काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले मुस्ताङको माथिल्लो भेग लोमान्थाङमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन्। पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछाडि पार्दैै दोस्रो पटक उपाधि जिते। यो गल्फ मैदान विश्वकै सबैभन्दा बढी उचाईमा रहेको छ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए। उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए। लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए। २४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने। उनले पोखराका याम रानालाई पछाडि पारे।

रविन राना र याम रानाको स्कोर समान ११ भएपनि रविन काउन्ट व्याकमा च्याम्पियन बने। उनले अन्तिम होलमा २ अंक जोडेपछि च्याम्पियनमा नाम लेखाए। पी.बी राई पनि समान ११ स्कोर भएपनि तेस्रो स्थानमा चित्त बुझाए। सिनियर गल्फरको पुरस्कार भने पोखराका गल्फर बलराम थापाले पाए। ६१ वर्षिय थापा गत वर्षको पहिलो संस्करणको प्रतिस्पर्धामा उपविजेता बनेका थिए। उनले १६ स्कोर गरे।

महिला तर्फको प्रतिस्पर्धामा पोखराकी जुनी गुरुङ च्याम्पियन बनिन्। उनले १५ स्कोर गरिन्। सर्वाधिक बर्डी हिर्काउने गल्फरको पुरस्कार आत्मराम सिंखडाले जिते। त्यस्तै लङगेष्ट ड्राईभको पुरस्कार मदन सिंखडाले पाए। होल नजिक हिर्काउँदै ‘क्लोजेष्ट टु दि पीन’को पुरस्कार मेजर विजय मोक्तानले पाए। होल ईन वानको पुरस्कार भने कसैले जित्न सकेनन। होल ईन वान विजेता गल्फरलाई घोडा पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरिएको थियो।

तीनवर्ष अघिसम्म चरन क्षेत्रको रुपमा रहेको लोवाथाङ अहिले विश्वकै उच्च स्थानको गल्फ कोर्षमा परिणत भईसकेको छ। विश्व कीर्तिमान लेखाउने योजनासहित मुस्ताङ गल्फ कोर्षले ४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो।

‘विश्वकै उच्च उचाईको गल्फ कोर्षमा कीर्तिमान लेखाउने योजनासहित दोस्रो पटक गल्फ प्रतियोगिता आयोजना गर्यौं’ मुस्ताङ गल्फ कोर्षका निर्देशक इन्द्रधारा विष्टले भने, ‘आगामी वर्ष कोर्षलाई अझ व्यवस्थित बनाई प्रतियोगितालाई भब्य बनाउने योजना छ।’ उनले लोमान्थाङलाई हाईअल्टिच्युड स्पोर्टस हबको रुपमा विकास गर्दै साहसिक पर्यटन प्रवद्र्धनमा गल्फले नयाँ आयाम थपिने विश्वास लिएको सुनाए।

प्रतियोगितालाई लोमान्थाङ गाँउपालिकाले सहआयोजकको भूमिका निर्वाह गरेको छ। स्थानीय व्यवस्थापन गाँउपालिकाले गरेको थियो। प्रतियोगितालाई लोमान्थाङका युवराज ढिक्मी ढिन्डुप फोन्चुक परवल विष्टले टी अफ गरेर उदघाटन गरेका थिए।

 

विभिन्न विधाका विजेता गल्फरलाई गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका इन्द्रधारा विष्ट, गाँउपालिकाका पदाधिकारी लगायतले ट्रफी प्रदान गरेका थिए। कोर्ष डिजाईन गर्न नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले एकसाता अघि लोमान्थाङ पुगेका थिए। उनकै सक्रियतामा गल्फ कोर्ष मर्मत गरिएको थियो।

Leave a Reply