रोजगारीका लागि भारतीय गो फर्स्ट एयरलाइन्सबाट माल्दिभ्स उडेका म्याग्दीका एक यूवा भारतको मुम्बई अन्तराष्ट्रिय विमानस्थलबाट बेपत्ता भएको एक साता वितिसक्दा समेत अझै भेटिएका छैनन् । म्याग्दीको बेनी नगरपालिका–६,डम्बराका ३६ बर्षिय डानबहादुर खत्री गएको आइतबारदेखि सम्पर्कविहिन छन् । काठमाण्डौबाट माल्दिभ्सका लागि खत्री सहित ९ जना उडेका थिए । करिब १७ घण्टाको ट्रान्जिटको क्रममा अचानक बिरामी भएपछि विमानस्थल नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो ।

त्यहाँबाटै बेपत्ता भएपछि खोजीकार्य तिब्र पारिएपनि अझै सम्पर्कमा नआएको डम्बराका स्थानीय यूवा बिशाल खत्रीले बताए। ‘अझै भेटिनुभएको छैन,‘मुम्बई प्रहरीले खोजीकार्य गरिरहेको छ’ खत्रीले भने । उनका अनुसार विमानस्थलबाट उपचारको क्रममा लैजाने, लगिएको स्थानमा रहेकाहरुलाई अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले सिसीक्यामेराबाट समेत थप अनुसन्धान गरी खोजीकार्यमा जुटेको बताए । बिमास्थलबाट पहिलोपटक लगिएको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले भागेको बयान दिएपछि शंकास्पद देखिएको छ ।

बेपत्ता खत्रीलाई कसैले दुरुपयोग वा थप समस्यामा पार्न सक्ने भन्दै पीडित आफन्तले अनुसन्धानलाई तिब्रता दिन र त्यहाँ रहेका नेपालीलाई समेत खोजीकार्यमा सघाउन समेत अनुरोध गरेका छन्। मुम्बई विमानस्थल आसपासका क्षेत्रमा रहेका म्याग्देलीले समेत खोजीकार्यमा सहयोग गरेका छन् ।

बेपत्ता खत्रीको हुलिया सहित निबेदन दिइएर खोजी भइरहेको बताइएको छ । यसैबीच विमान कम्पनी भारतीय गो फर्स्ट एयरलाइन्सले समेत खोजीकार्यमा सघाएको छ। ट्रान्जिटमा यात्रु हराएमा बिमान कम्पनी समेत जिम्मेबार हुन्छ ।

Leave a Reply