बेनी नगरपालिकाले बेनीबजार क्षेत्रमा अव्यवस्थित रूपमा बनाइएका सडक पेटी हटाउन सुरु गरेको छ । नगरपालिकाले मेयर सुरत केसीको शिक्षामार्गमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले प्रयोग गदैं आएको घरमा सडक मिचेर बनाइएका अव्यवस्थित पेटी भत्काएर अभियानको सुरू गरेको छ ।
नगरपालिकाले वडाका जनप्रतिनिधि सहितको टोली खटाएर करिब ४ महिना अगाडी घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा ’रेडमार्क’ लगाएपनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडक पेटी हटाउन सुरु गरेको नगर प्रमुख केसीले बताए ।
उनका अनुसार बेनीबजारभित्र अव्यवस्थित सडक पेटी हटाउन घरधनीलाई नै अनुरोध गरेका छन् । बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो । नगरपालिकाले एक साताभित्र सबै पेटी हटाउने गरी नगर प्रहरीलाई समेत निर्देशन दिएको छ ।
सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो । नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा ब्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत ब्यवस्थित गरिसकेको छ ।