म्याग्दी । द मुनसन युथ क्लब बेनी नगरपालिका ५ र ६ को आयोजनामा संचालन भएको सातौं मुनसन कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि अर्थुङ्गे युनाइटेड क्लबले हात पारेको छ ।

एभरग्रीन युवा क्लवलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा पुगेको अर्थुङ्गे युनाईटेड युवा क्लबले रिभरसाइड युवा क्लब बगरफाँटलाई शुन्यका विरुद्ध ६ गोल गर्दै उपाधि हात पारेको हो । उपाधि संगै नगद ८० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको टिम कोच शिरिष हमालले जानकारी दिनुभयो ।

खेलमा अर्थुङ्गे युनाईटेडका खेलाडी अजित गुरुङले एक्लै ५ गोल गर्न सफल भएका थिए । निशान गुरुङको कप्तानीमा मैदानमा उत्रिएको अर्थुङ्गे युनाईटेडले सुरुवातदेखिनै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । टिम म्यानेजर विवेक हमालले खेलाडीको अथक मेहनतले सातौँ मुनसन कपको उपाधि हात पार्न सफल भएको बताउनुभयो ।

आयोजक मुनसन युवा क्लबलाई सेमी फाइनलमा पेनाल्टी सुटआउटमा हराउदै फाइनलमा पुगेकोे रिभरसाइड उपविजेतामा सिमित भयो । उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अनुशासित टिममा छाप युवा क्लव बेनपा ६ छापलाई नगद १० हजार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा अर्थुङ्गे क्लबका अजित गुरुङ बेस्ट प्लेयर, मनसुनका गणेश चोखाल वेस्ट डिफेन्डर, अर्थुङ्गे युनाईटेडका सज्जन बराईली वेष्ट किपर, राइजिङ प्लेयर रिभर साइडका प्रविन मगर र बढी गोलकर्तामा मनसुनका अज्जन बानियाँ घोषित भएका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफी हात पारे भने अन्य विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी हात पारेका छन् । कार्यक्रममा विजयी खेलाडीहरुलाई बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा सदस्य ईश्वर पौडेल, क्लव अध्यक्ष दिनेश बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply