म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटस्थित खड्गभवानी कोट मन्दिर परिसरमा नवनिर्मित सिद्धिविनायक गणेश मन्दिरमा भगवान् गणेशको मूर्ति प्राण–प्रतिष्ठा भएको छ । ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच मूर्तिको प्रतिस्थापन गरिएको हो ।
गणेश मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी गणेशको मूर्तिको प्राण–प्रतिष्ठा गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका पदाधिकारी, निर्माण उपभोक्ता समिति र स्थानीयको उपस्थितिमा भजनकिर्तन र बाजागाजासहित गणेशको मूर्तिको प्राण प्रतिष्ठाको कार्यक्रम बेनी नगरपालिका-२, ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
गणेशको मन्दिर गएको आर्थिक वर्ष २०७९÷०८० मा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पाँचलाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गरिएको ज्यामरुककोट क्षेत्र विकास एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।
मन्दिर निर्माणको क्रममा शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट गत वर्षको फागुन ७ गतेदेखि बैशाख २ गतेसम्म श्रमदानमा सहयोग भएको थियो । मूर्तिको प्राण–प्रतिष्ठा कार्यक्रमको अवसरमा श्रमदानमा सहयोग गरेको भन्दै शत्रुभञ्जन गुल्मलाई सम्मानपत्रले सम्मान गरिएको छ ।
उक्त सम्मान गुल्मका प्रमुख सेनानी प्रकाश घिसिङलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष क्षत्री, निवर्तमान वडाध्यक्ष हिराबहादुर थापा, व्यवस्थापन समितिका अध्यक्ष घिमिरेसहित स्थानीयले अबिरको टिका र खादा लगाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष क्षत्रीले चालु वर्षमा पनि पर्यटन बोर्डबाट ज्यामरुककोट मन्दिरको सरक्षण गर्न १० लाख रुपैयाँ बजेट परेको बताउँदै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेकबाट पुनः सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम ज्यामरुककोट क्षेत्र विकास एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षता, सचिव हरिप्रसाद शर्माको सञ्चालन र सदस्य जमुना घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply