नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरुमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभरी महत्व रहेको छ ।

तर,यति महत्वपूर्ण मानिएको कालीगण्डकी नदीको अस्तित्व नासिँदै जाँदा यो नदीसँग जोडिएको ‘जल’ सभ्यता पनि संकटमा पर्दै जान थालेको छ ।मानवीय लापर्वाही,नदीको दोहन र प्राकृतिक प्रकोपका कारण कालीगण्डकी कुरुप बन्दै गएको हो ।कालीगण्डकीको महत्व विभिन्न धार्किक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

सबैभन्दा पुरानो मानिएको ऋग्बेदका अनुसार ‘ऋषि त्रिशिरा त्वाष्ट्र देवता आपो देवता, गायत्री आपो हि ष्ठा मयोभुवस्ता न ऊर्जे दधातन । महे रणाय चक्षसे । अर्थात् हे जलदेवता ! तिमी सुखका मूल स्रोत हौ, हामीलाई पराक्रमले युक्त उत्तम कर्म गर्नका लागि पोषक रस प्रदान गर ।’ यस मन्त्रमा जललाई पराक्रम, उत्तम कर्म र सुखका लागि पोषण प्रदान गर्ने भनिएको छ । यसरी कालीगण्डकीको जलसँग सभ्यता जोडिएको छ ।

त्यसैगरी ऋग्वेदको अर्को ऋचामा ‘यो वः शिवतमो रसस्तस्य भाजयते नः । उशतीरिव मातरः । अर्थात् हे जलदेवता ! हामीलाई अत्यन्त पोषक रस सेवन गर्न देऊ, आमाले आफ्ना दुधले बच्चालाई पोषण दिएझैं हामीलाई तिमी पोषित गर ।’ यहाँ जल र मानिसको सम्बन्ध आमा र बच्चाको जस्तो भएको भनिएको छ ।

जलसँगै आमाको महत्व दिइएको छ ।कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदीमात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता सङ्कटमा पर्दैगएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

राजा भरतले तपस्या गरेको पवित्रभूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । तर,पछिल्लो समय गैरकानुनी रुपमा कालीगण्डकीको दोहन बढीरहेको र अतिक्रमण गरेर आफूखुसी प्रयोग भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको भनाइ छ ।
कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पन्क्षी, किट, पतङ्गदेखि लिएर मानव जातीलाईसमेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो ।

“कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, पण्डित पराजुलीले भन्नुभयो । त्यसंैगरी राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेले पनि कालीगण्डकी शालिग्राम कुद्ने विश्वकै एकमात्र नदी भएको उल्लेख गर्दै लेख्नुभएको छ –

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुद्दछ्यौँ सालिग्राम ?’

तर, शालिग्राम कुद्ने विशिष्ट बरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवि उपाध्यायले बताउनुभयो ।

ऋकवेदमा ‘ईशाना वार्याणां क्षयन्तीयार्षणीनाम् अपो याचामि भेषजम्‘ । अर्थात् जल प्रवाह मानिसको इच्छित पदार्थको स्वामी र सम्पूर्ण प्राणीको आश्रयदाता हो । हामी जलबाट औषधिमा जीवनरसको कामना गर्दछौं’ भनिएको छ । यसले पनि जल सभ्यता के हो भनेर बुझ्न सकिने पं पराजुलीले बताउनुभयो ।

पं पराजुलीका अनुसार नदी मानवजातिको सभ्यता र विकासको आधार हो । मानवसभ्यताको विकास नदी किनारमा नै बढी भएको छ । नदीहरू जलस्रोत हुन् । जीवनका लागि र जीवनपछि पनि जलको महत्व रहेको छ । नदी÷जल हाम्रा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, आर्थिक उन्नतिका आधार हुन् । हाम्रो स्वास्थ्य र दिनचर्या जल—पानीमा आधारित छ । आर्थिक समृद्धिका लागि जल र जलसँग सम्बन्धित उद्यम, उपक्रममा अझ जोड दिन आवश्यक छ । ती सबै नदीहरुमध्ये कालीगण्डकी नदीको विशिष्ट महत्व रहेको उहाँको भनाइ छ ।

कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ । पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगडकी चर्चामा छ ।

बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रमा कालीगण्डकीको पानी पु¥याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने वृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रुपमा यसलाई लिइएको छ ।

 

Leave a Reply