म्याग्दीका स्वास्थ्य संघ संस्था र सरोकारवालाहरुले नागरिकका आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक र अधिकारलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको आर्थिक बर्ष २०७९/०८० को जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रमबाट सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्ती गर्न शत प्रतिशत नजिता हाँसिल गर्नका लागि उक्त प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य कार्यालय म्याग्दी, जिल्लाका छ वटै स्थानीय तहका स्वास्थ्य शाखा, स्वाथ्य निर्देशानालय, बेनी अस्प्ताल, वान हर्ड वल्डवाईड, स्वास्थ्य बीमा बोर्ड र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले म्याग्दी जिल्लाको स्वास्थ्यको अवस्थालाई सुधार गर्दै स्तरीय बनाउनका लागि १० बुँदे प्रतिबद्धतापत्र जारी गरेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

सरोकारवालाहरुले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै मासिक रुपमा एक स्वास्थ्यकर्मी एक विद्यालय अभिायन सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय तह साथै जिल्ला स्तरीय समिक्षा तथा बैठकहरु नियमित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । स्वास्थ्य सूचकहरुमा सुधार हुन नसकेका विभिन्न स्वास्थ्य संस्थाहरुमा जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा एकिकृत सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

समिक्षा बैठकबाट जारी प्रतिबद्धता पत्रमा स्वास्थ्य व्यवस्थापन सम्बन्धी विद्युतिय अभिलेख तथा प्रतिवेदन प्रणाली, पारिवारिक तथा जनसांख्यिक लगत संकलन कार्यक्रम सञ्चालन तथा विवरण अध्यावधिक जस्ता कार्यक्रम सवै स्थानीय तहमा लागू गर्न बजेट व्यवस्थापन गर्न जोड दिने उल्लेख छ । सबै स्थानीय तहमा स्वास्थ्य विमा संयोजन समिति गठन गर्ने, स्थानीय तहहरुमा स्वास्थ्य क्षेत्रको लागि आबश्यक पर्ने बजेट विनियोजन गर्न पहल गर्ने, पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान, खानेपानी गुणस्तर निगरानी तथा खानेपानी परिक्षण र समुदायमा क्लोरिनेशन अभियान सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरि क्षयरोग, कुष्ठरोग विरामी पत्ता लगाउने, नसर्ने रोगका स्किनिङ तथा निदान सम्बन्धी समुदाय स्तरमा विभिन्न क्रियाकलाप गर्ने, परिवार नियोजन साधनको प्रयोगदरमा बृद्धि गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ । मंगलवार र बुधवार गरि दुई दिनसम्म सञ्चालन भएको समिक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय तह, बेनी अस्पताल र स्वास्थ्य साझेदार संघ संस्थाहरुले गरेका गतिविधि, उपलब्धि, चुनौति लगायतको बिषयमा प्रस्तुतिकरण र छलफल भएको थियो । बार्षिक समिक्षाको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले कार्य सम्पादन मुल्यांकनका आधारमा जिल्लामा रहेका उत्कृष्ट स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई सम्मान गरेको छ ।

गत आर्थिक बर्षको कार्यसम्पादनका आधारमा बेनी नगरपालिका प्रथम, अन्नपूर्ण गाउँपालिका द्धितीय र मालिका गाउँपालिकाका स्वास्थ्य शाखालाई तृतीय घोषणा गरेर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब विनोदविन्दु शर्माले वडा, पालिका तह र जिल्ला स्तरमा रहेका स्वास्थ्यकर्मीहरुको भूमिकाले समग्र प्रदेश र राष्ट्रको स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तन सम्भव रहेको बताउनुभयो । स्वास्थ्य सेवाका लागि औषधी उपचार संगै पूर्वाधार र जनशक्ति व्यवस्थापन र परिचालन महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

Leave a Reply