म्याग्दीको सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको बिहिबार भब्य समारोहका बिच उद्घाटन भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा म्याग्दी जेसीजको आथित्यतामा आयोजित सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागि र देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकलाई बेनीबजारको चोकचोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको प्रदर्शन समेत गरिएको थियो ।

यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा केन्द्रित रहेको नेपाल जेसीजका विभिन्न जिल्लाबाट आएका प्र्रतिनिधिलाई बजारबासीले भब्य स्वागत गरेका थिए । सम्मेलनको अवसरमा म्याग्दी जिल्लालाई चिनाउने चार यूवालाई सम्मान गरिएको थियो ।

ग्रामिण क्षेत्रमा भेडापालन गर्ने धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङका देवान छन्त्याल, अल्लोको उत्पादनलाई निर्यात गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका किरण थापा, चर्चित यूवा गायक मंगला गाउँपालिका–५ अर्मनका प्रकाश दुतराज र बेनी जोमसोम सडकखण्डमा यात्रुलाई उद्धार तथा सहयोग गर्ने पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनलाई नगद, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

देशभरीबाट आएका जेसीजका प्रतिनिधिको बसाईलाई अविस्मरणीय बनाउन म्याग्दी जिल्लाबासीले विभिन्न माध्यमबाट स्वागत तथा सम्मान गरेका छन् । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ ।

क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको छ । सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको छ भने सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराइएको छ । क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा लिइएको छ । सन् २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ । सम्मेलन असोज ३,४ र ५ गतेसम्म हुने छ ।

 

Leave a Reply