विभिन्न जातजातिको भेषभुषा, बेनीबजारबासीको भब्य स्वागतमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरू भएको छ । मौलिकताको धनी म्याग्दीमा रहेका जातजातिको कला र संस्कृति, विद्यालयका विद्यार्थीको लामबद्ध स्वागत तथा घरको आगमनमा घडामा जलभरि देशभरबाट आएका जेसीजका प्रतिनिधिहरुलाई स्वागत गरिएको थियो।

झट्ट हेर्दा म्याग्दी महोत्सवको झल्को दिने जेसीज सम्मेलनमा म्याग्दीको कला र संस्कृति तथा जिल्लाबासीको एकता पोखिएको छ । बेनीबजारको चोकचोकमा बसेर जेसीजका प्रतिनिधिलाई स्वागत गरेका बजारबासीले बेनीबजारको एकता र सहकार्य समेत जेसीजका प्रतिनिधिमार्फत देशभर पुर्याउन सफल भएका छन् ।

आफ्नो दैनिक काम समेत छोडेर जेसीजका सदस्यको स्वागतमा जुटेका बजारबासीले क्षेत्र ‘ख’ सम्मेलनमा सबैभन्दा उत्कृष्ट स्वागत गरेको प्रतिक्रिया समेत प्रतिनिधिहरुबाट कानमै पुग्ने गरी सुन्न पाएका छन् ।

उद्घाटन समारोहलाई अविस्मरणीय बनाउन सफल म्याग्दी जेसीजले सम्मेलनको पूरै समयलाई अतिथिको स्वागत सम्मानमा कुनै कमी हुन नदिने गरी ब्यवस्थापनमा जुटेको छ । ४० बर्ष मुनिका यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय जेसीजको ब्यवस्थान निकै लोभलाग्दो थियो ।

बेनीको खुल्लामञ्चमा आयोजित सम्मेलनस्थलमा म्याग्दीमा उत्पादन हुने अर्गानिक बस्तु, पर्यटकीयस्थलका बारेमा जानकारीका साथै स्वागत नृत्य र डिजिटल प्रस्तुतीले समेत सबै अतिथि र प्रतिनिधिलाई लोभ्याएको छ ।

म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा म्याग्दी जेसीजको आथित्यतामा आयोजित सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागि र देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षक बेनीमा छन् । सन् २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ । सम्मेलन असोज ३,४ र ५ गतेसम्म हुने छ । 

Leave a Reply