म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा मा सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दीमा विभिन्न क्षेत्रमा सफल चार जना युवाहरु सम्मानीत हुनुभएको छ । हिमालको फेदमा भेडापालक गर्ने धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङका देवान छन्त्याल, अल्लोको उत्पादनलाई निर्यात गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका किरण थापा, चर्चित यूवा गायक मंगला गाउँपालिका–५ अर्मनका प्रकाश दुतराज र बेनी–जोमसोम सडकखण्डमा यात्रुलाई उद्धार तथा सहयोग गर्ने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनलाई सम्मान गरेको हो ।

म्याग्दीमा जन्मिएर कलाकारिता, पशुपालन, लघुउद्यम र समाजसेवामा फरक पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । दुई दशक लामो वैदेशिक रोजगारिबाट फर्किएपछि व्यावसायिक घुम्ती गोठको भेडापालन गर्दै आउनुभएका छन्त्यालले ६ सय बढी भेडा पाल्दै आउनुभएको छ ।

अल्लो उद्यमी थापाले जंगलमा खेर गएको अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँको उद्योगबाट अल्लोबाट धागो र कपडा उत्पादन हुँदै आएको छ । पर्यटन ब्यवसायी शेरचनले पहिरो र बाढीको समयमा यात्रु र सर्वसाधारणलाई आवत जावतमा स्वयंसेवी रुपमा जोखिम मोलेर सघाउँदै आउनुभएको छ ।

ज्यानकै बाजी राखेर बर्खाको समयमा भोकभोकै शेरचनले बिरामी पर्यटकलाई समेत बोकेर गन्तब्यसम्म लैजाने गर्नुभएको छ । त्यस्तै गायक दुतराजले गितसंगीतबाट म्याग्दीलाई चिनाउन सफल हुनुभएको छ। दुतराजका धेरै गितले यूटुवमा १ करोडभन्दा धेरै भ्यूज समेत पाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेश सभा सदस्यद्धय हरि भण्डारी, विमला गौचन, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, सम्मेलन सभापति रजनी थापा, सम्मेलन निर्देशक सुविन श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँ लगायतले अविर, दोसल्ला र सम्मानपत्र सहित नगदद्धारा सम्मान गर्नुभएको थियो ।

Leave a Reply