म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङकी सुस्त श्रवणशक्ति भएकी घनिता पुन बेनी नगरपालिका-४,सिंगास्थित धौलागिरी माविमा कक्षा ५ मा अध्ययनरत छिन् । परिवारको आर्थिक अवस्था निकै कहालीलाग्दो रहेको पुनको आमाबुबा मानसिक बिरामी भएकाले आफन्तको सहयोगमा विद्यालयमा आएकी घनिताले गएको परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याईन्।
शब्दहरूलाई औंलाले र शिक्षकको हातको इसारामा हात हल्लाउँदै सांकेतिक भाषामार्फत पढ्ने घनिता साथीहरूमा समेत सहयोगी छिन् । पढाइमा अब्बल घनिता आर्थिक रूपमा कमजोर अवस्था भएपनि अहिलेसम्म उनको पढाइलाई कुनै असर नगरेपनि कक्षा ६ देखि बाहिरी जिल्लामा गएर पढ्नुपर्ने भएपछि भने उनी निकै चिन्तित छिन् ।
बोल्न र सुन्न नसक्ने विद्यार्थीहरूको निम्ति स्थापित धवलागिरी माविको स्रोत कक्षामा कक्षा ५ सम्म अध्ययन हुने भएकाले थप शिक्षाका लागि जानआउने तथा अन्य खर्चहरू समेत सहयोग मिलेमा निकै सहज हुने स्रोत कक्षा समन्वयकर्ता लक्ष्मीदेबी श्रेष्ठले बताईन् ।
‘घनिताले सबै विद्यार्थीलाई मायाँ गर्छिन,पढाइमै केन्द्रित हुन्छिन्, सहयोग मिलेमा पढाइमा राम्रो गर्न सक्छिन्’ श्रेष्ठले भनिन् । उनलाई पोखरा रकाठमाण्डौको सुविधासम्पन्न सांकेतिक भाषाको सुविधा भएको विद्यालयमा भर्ना गर्न सकेमा कम्प्युटर इन्जिनियर पढ्ने सपना पूरा हुने बताईन् ।
कक्षा कोठा, आवास तथा अन्य गतिविधिमा समेत धनिताको प्रस्तुत निकै लोभलाग्दो र लक्ष्य प्राप्तीमा केन्द्रित हुने गरेको समन्वयकर्ता श्रेष्ठको भनाई । कक्षा ६ मा धौलागिरि बहिरा आवासीय माविमा पढ्न जाने विपन्न विद्यार्थीलाई सामान्य खर्च समेत नहुदाँ समस्या हुने गरेको छ ।
छात्रा घनिताले आफुँले कम्प्युटर इन्जिनियर बन्ने गरी पढिरहेको बताईन् । स्रोत कक्षा समन्वयकर्ता श्रेष्ठमार्फत संकेतमा अनुवाद गदैं घनिताले घरको आर्थिक अवस्था कमजोर भएपनि अहिलेसम्म दिदीले सहयोग गरेको बताईन् । शालीन ढंगले मुस्कुराउँदै हातले इसाराले जवाफ दिने घनितालेआफ्नो समस्याका बारेमा जानकारी भएपनि कुनै गुनासो नरहेको बताईन् ।
बेसाहराको अवस्था उस्तै
शब्दहरूलाई औंलाले संकेत गर्दै पढ्ने बेनी नगरपालिका वडा नं १० पात्लेखेतका मोहन रोका आमाले दोस्रो विवाह गरेपछि सम्पर्कमा छैनन् । उनीजस्तै बेनपा–५ पुलाचौरकी ममिता परियारकी बुबाको मृत्युपछि आमाले दोस्रो विवाह गरिन् । मोहन, ममितासँगै पढ्ने मंगला गाउँपालिका वडा नं १ कुहुँकका यूवराज दर्जीको बुबाको मृत्युभएपनि आमाको अवस्था निकै कमजोर छ ।
बोल्न र सुन्न नसक्ने उनीहरूलाई चाडपर्वको विदा तथा अन्य समयमा घरमा जान समेत निकै समस्या छ । जन्मदिने आमाबुबा नभएपछि विदाको समयमा समेत विद्यालयमै बस्न रुचाउने गरेको प्रधानाध्यापक भुवनप्रसाद रेग्मीले बताए ।
‘बेसाहारालाई सहयोगको आवश्यकता छ,‘उनीहरू बोल्न नसक्ने भएकाले धेरै पीडा लुकेको छ’ प्रअ रेग्मीले भने । यता विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्कालेबहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषालाई कम्प्युटरको माध्यमबाट समेत सिक्न सहज हुने गरी मोना बेल्जियमले दिएको कम्प्युटरसँग उपकरण समेत थप्दै जाने बताए। उनले प्रविधिमा ढाल्नका लागि कम्प्युटरले सहयोग पुग्ने बताउँदै आधुनिक युगमा विद्यालयमा कम्युटर शिक्षाको आवश्यकता रहेको बताए ।