म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मोना आइसीका निर्वतमान बरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव समेत रहेका पूर्जाले चौथौ महाधिवेशनमा सहमतिका लागि अध्यक्ष पद छोडेको बताउँदै यसपटक अध्यक्षमा उम्मेदवारी घोषणासँगै अभियानमा जुटेको बताए ।

‘मोनाको अभियानलाई फैलाउन निरन्तर अभियानमा छु,’संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु’ पूर्जाले भने ।

अध्यक्ष पदका उम्मेदवार पूर्जाले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर बाँकी रहेका देशमा मोनाको सञ्जाल विस्तार गर्ने, मोनाको कोष तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय कार्यकारी समितिलाई थप बलियो बनाउने र म्याग्दीमा स्थानीय तहसँग सहकार्य गरी मोनामार्फत काम गर्ने बताए ।

उनले आफ्नो उम्मेदवारीसँगै अभियानमा जुटेको समेत बताए । मोना नेदरल्याण्डका संंस्थापक सदस्य समेत रहेका पूर्जा एनआरएनए नेदरल्याण्डको निर्वतमान अध्यक्ष समेत हुन् ।

नेदरल्याण्डका सफल नेपाली ब्यवसायी पूर्जाले म्याग्दीमा विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् । यसअगाडी हालका बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी गरिसकेका छन् । मोनाको अधिवेशन नजिकदैं जाँदा अध्यक्ष पदमा उम्मेदवारी घोषणाले माहोल बन्दै गइरहेको छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता तेजप्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो ।

Leave a Reply