---Advertisement---

‘संसारभरी पुगेका म्याग्देलीलाई मोनाको सदस्यता मेरो पहिलो प्राथमिकता’ ददीवल खड्का

On: September 24, 2023 11:38 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले मोनाको प्रतिष्ठा र गरिमालाई थप उचाईमा पुर्याउन अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

जापानका सफल नेपाली ब्यवसायी खड्काले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित मोना बनाउन संसारभर पुगेका म्याग्देलीहरुलाई मोनाको अभियानमा जोड्ने बताए ।

‘म्याग्देली छरिएको सबै देशमा मोनाको सञ्जाल बनाउने मेरो पहिलो योजना छ,’अबको कार्यकालमा मोनामार्फत धेरै काम गर्नुपर्ने छ‘ अध्यक्षका प्रत्यासी खड्काले भने । उनले अहिले सञ्जाल विस्तार भएका मोनामार्फत रचनात्मक कार्यहरू भइरहेको अवस्थामा राष्ट्रिय समितिलाई प्रोत्साहन गर्ने पर्ने बताए ।

सबल, साझा र एकताबद्ध मोना बनाएर जन्म्भूमि म्याग्दी र कर्मभूमीमा समेत परिणाममुखी काम गर्नुपर्ने उनले बताए । अहिले २८ देशमा मोनाको सञ्जाल भएपनि त्यो भन्दा धेरै देशमा म्याग्देली पुगेका छन्। विश्वभर रहेका म्याग्देलीलाई मोनामा जोड्न सकेमा मात्रै मोनाको अभियान सफल हुने उनले बताए ।

मोनामार्फत म्याग्दी जिल्लामा समेत धेरै काम गर्न सकिने भएकाले सामाजिक सँगै मानवीय सेवाका अभियानमा समेत निरन्तर सक्रिय हुने दृढता व्यक्त गरे। आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि खड्काले अहिले आफ्नो एजेण्डा सहित विभिन्न योजनाहरु सुनाउँदै प्रवासी म्याग्देलीमाझ पुगेका छन् ।

उनले आफुँ मोनामा पद र प्रतिष्ठाका लागि भन्दा पनि विगतका अपूरा काम पूरा गर्न र प्रवासमा रहेका नयाँ पुस्तालाई मोनामा आवद्ध गराउने अभियानमा सक्रिय हुँदै आएको बताए ।अध्यक्षमा उम्मेदवारी घोषणासँगै दुईवर्षे कार्यकालमा दर्जनौ काममार्फत म्याग्देलीको मन जित्ने खड्कोको भनाई छ ।

अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लामो समयदेखी जापानलाई कर्मथलो बनाउदै आएका खड्काले मोनामा सामुहिक लगानीको वातावरण बनाउनुपर्ने बताए । मोनाका बरिष्ठ उपाध्यक्ष खड्का महाधिवेशनको आयोजिक समितिका संयोजक समेत हुन् ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो ।

संस्थापक अध्यक्ष पुन नै अधिवेशनको मुख्य निर्वाचन अधिकृत भएकालेहालसम्म सर्वसम्मतिमै नेतृत्व चयन भएकाले यसपटक समेत सहमतिबाटै विश्वभर छरिएका म्याग्देलीलाई एकाबद्ध बनाएर लैजाने गरी महाधिवेशन टुंगो लगाउने अपेक्षा गरिएको छ।