म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बाख्लो संख्यामा सेतो पुतली देखिन थालेको छ । विगतका बर्षमा फाटफुट देखिने सेतो पुतली यसपटक म्याग्दीको सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रमा एकैठाउँमा धेरै संख्यामा देखिएपछि जोखिम बढेको छ ।
रातको समयमा घरभित्र ट्युवलाइट, विजुली बत्ती, पर्दा, कपडा, झ्यालमा छ्यापछ्याप्ती पुलती देखिन थालेपछि सावधानी अपनाउन अपिल गरिएको छ । रातको समयमा सडकका छेउछाउका विजुलीका बत्तीमासमेत देखिने पुतलीको शरीरमा कालो धर्सो हुन्छ ।यो पुतलीलाई नछुने र घरभित्र पस्न दिन नहुने बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोख्रेलले बताए ।
सिजनल हाइपर एक्युट पनु भिआइटिस तथा सापु भनिने यो समस्याका बिरामी यसपटक धेरै आउने सम्भावना रहेको डा. पोख्रेलको भनाई छ ।‘एकैठाउँमा धेरै पुतली देखिएमा जोखिम हुन्छ,‘पुतलीलाई खाली हातले समात्नु हुदैन,‘नष्ट गरेपछि पनि हातलाई आँखामा लैजानुहुदैन’ डा. पोख्रेलले भने ।
सेतो पुतलीको झुस आँखामा परे आँसु सुकाइदिने डा. पोख्रेललको भनाई छ। आँखामा संक्रमण फैलिएपछि सुरूमा दुखाई नहुने आँखा रातोमात्रै हुने र विस्तारै पिप जम्दै गएपछि दृष्टि हराउने गर्दछ । यो रोगबाट बालबालिका बढी प्रभावित हुने गरेका छन् ।
गएको बर्ष सेतो पुतलीका कारण आँखामा समस्या देखिएर नेत्रज्योती संघ म्याग्दीमा आएकी बेनी नगरपालिकाकी एक महिलाको दृष्टी गुमेको थियो । आँखा दुख्ने, बिझाउने र आँखा हेर्नै नसकिने लक्षण देखिएपछि थप उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा पठाइएको महिलाले जाँच गराउँदा आँखामा सेतो पुतलीको झुस देखियो। समयमै उपचारमा ध्यान नदिदाँ ज्योति गुमाउनुप¥यो ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका १८ बर्षिय एक यूवाले समेत आँखा पाकेको रोग हो भनेर हेलचक्र्याई गर्दै बस्दा आँखा गुमाएको नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले बताए ।
गतबर्ष सजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) का ५ जना बिरामी सम्पर्कमा आएको उनले बताए ।‘आँखामा समस्या देखिँदादेखिँदै पनि बेवास्ता गरियो भने यसले आँखालाई ध्वस्त पारिदिन सक्छ,‘यो आँखाको लागि निकै घातक रोग मानिन्छ’ नेत्र अधिकृत बानियाँले भने ।
आँखामा समस्या देखिएको ४८ घण्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ । असोज महिनामा ब्यापक देखिने गरेकोमा यसपटक नेपाल नेत्रज्योती संघको केन्द्रिय कार्यालयले भदौ महिनाको तेस्रो सातादेखि नै सेतो पुतलीको प्रकोप देखिने भन्दै सबै जिल्लामा विगतमा आँखामा समस्या देखिएका बिरामीहरू तथा उच्च जोखिम क्षेत्रको पहिचान गरी सेतो पुतली नियन्त्रणका लागी टोली नै पठाउने तयारी भइरहेको छ ।
नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँका अनुसार म्याग्दीमा समेत सापुको स्बाव संकलनका लागि टोली आउने बताए । उनले म्याग्दीको सदरमुका बेनीआसपासका क्षेत्रमा यसपटक सिजनमै धेरै सेतो पुतली देखिएको छ ।
शरीरभरि बाक्लो रौं (झुस) भएको सेतो आँखाबाट सबैभन्दा बढी जोखिममा बालबालिका रहेको बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द्र पोख्रेलले बताए । ‘सापुजस्ता समस्याको प्राथमिक उपचार मात्रै यहाँ हुन्छ, आँखामा जटिल समस्या देखिएकालाई पोखरा नै रिफर गर्ने गरेका छौ’मेडिकल अधिकृत पोख्रेलले भने । उनले भदौदेखि मंसिरसम्म खासगरी वर्षायाम रोकिएर चिसो बढ्नै लाग्दा यो रोग देखापरेको बताए । सेतो पुतलीको जोखिमलाई न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम आवश्यकता रहेको समेत चिकित्सकहरुको भनाई छ ।
जनचेतनामुलक कार्यक्रम छैन
म्याग्दीमाम सापुको रोकथाम र जनचेतनामुलक कार्यक्रमहरु अहिलेसम्म भएका छैनन् । आँखामा गम्भीर समस्या देखिएपछि मात्रै बिरामी उपचारका लागि आउने गरेपनि जिल्लामा स्थानीय तह, स्वास्थ्य संस्थाहरूले समेत रोकथाम सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरेका छैनन् ।
यसबर्ष रोकथाम तथा नियन्त्रणका लागि ध्यान दिनुपर्ने अवस्थाका बारेमा भने सरोकारावालाको जोड छ । अन्य महामारी रोगको संक्रमणका बारेमा जनचेतनामुलक अभियान सञ्चालन गर्ने म्याग्दीका स्थानीय तहले दृष्टी नै गुम्ने सापु्बाट जोगिन सर्वसाधारणलाई जनचेतनामुलक अभियान सञ्चालन बारेमा भने खासै चासो देखाएका छैनन् ।
शापू रोगका लक्षण
– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखा दुख्नु
– उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु
– आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।
शापूको रोकथाम कसरी गर्ने ?
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो सेतो बत्ती नबाल्ने
– साँझ र राति झ्यालढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने ।