अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्। भेटे चिकित्सकलाई नै कुट्ने, नभेटे अस्पताल तोडफोड गर्ने घटना एक दशकयता पटकपटक दोहोरिएका छन्।
एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो। त्यसको केही दिनअघि कञ्चनपुरस्थित एक अस्पतालमा अहेब कुटिए। करिब दुई साताअघि हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको थियो। त्यस्तै विराट मेडिकल कलेज, कोसी प्रादेशिक अस्पतालमा पनि तोडफोड भयो।
यी पछिल्ला र प्रतिनिधि घटना हुन्। मुलुकमा यस्ता पटकपटक भएका छन्। चिकित्सकमाथि पटकपटक हातपात भएपछि चिकित्सक पनि आन्दोलनमा उत्रिन थालेका छन्। नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभरि प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताललगायतका सबैजसो अस्पतालका चिकित्सक प्रदर्शनमा सहभागी भए।
नेपाल मेडिकल काउन्सिलले मंगलबार पे्रस विज्ञप्ति जारी गरी चिकित्सकले दिने स्वास्थ्य सेवामा त्रुटि र गुनासो भए न्याय खोज्ने निकाय हुँदाहुँदै बारम्बार चिकित्सक लगायतका स्वास्थ्यकर्मीमाथि हातपात गर्नु अशोभनीय कार्य भएको जनाएको छ।
उपचारमा चित्त नबुझे पीडित पक्षले काउन्सिलमा पनि उजुरी दिन सक्ने व्यवस्था छ। काउन्सिलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण कसैको हितमा नभएकाले पीडित पक्षलाई काउन्सिलमा उजुरी दिन अपिल गरेको छ। विज्ञप्तिमा लेखिएको छ, ‘स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था भयरहित बनाउन अपिल गर्छौं।’
स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको अगुवाइमा मंगलबार उपत्यकाका सबैजसो अस्पतालका स्वास्थ्यकर्मीले माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गरे। उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षा गर्न, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनहरूको पालना गरी स्वास्थ्य संस्थालाई शान्त र सुरक्षित बनाउन अपिल गरेका छन्।
चिकित्सक सुरक्षा माग राखेर सडकमा उत्रिएपछि मंगलबारै दिउँसो सरकार, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिवबीच छलफल भएको छ। छलफलमा गृहमन्त्री श्रेष्ठले घटनाका दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलकुमार कार्कीले बताए। चिकित्सकलाई ढुक्क भएर काम गर्ने वातावरण बनाइदिन कार्कीले सरकारसँग अनुरोध गरेका छन्।
किन कुटिन्छन् स्वास्थ्यकर्मी?
चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि कुटपिट हुनुको पछाडि मुख्य तीनवटा कारण रहेको जनस्वास्थ्यविद् तथा सरोकारवाला निकायका प्रतिनिधि बताउँछन्। ती तीन कारण हुन्– ऐन भएर पनि पालना नहुनु, बिरामी वा मृतकका पक्षलाई उचालेर पैसा असुल्ने गिरोहको बिगबिगी र स्वास्थ्यकर्मीमा बिरामी पक्षसँग सञ्चार सीपको कमी।
ऐन छ, कार्यान्वयन छैन
नेपालमा स्वास्थ्यकर्र्मी र स्वास्थ्य संस्थामाथि पटकपटक आक्रमण हुन थालेपछि चिकित्सकहरूको मागअनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ ल्यायो। ऐनको पहिलो संशोधन २०७९ सालमा भयो। संशोधनसँगै ऐन पूर्ण भएको चिकित्सकले ठानेका थिए। तर ऐन पालना नभएका कारण स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। जनचेतनाको कमीले पनि ऐन उल्लंघन भइरहेको बुढाथोकी बताउँछन्।
ऐन पालना नभएकै कारण स्वास्थ्य क्षेत्रमा अराजकता बढिरहेको नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा. मधुर बस्नेत बताउँछन्।
‘कानुन कार्यान्वयन गर्ने निकाय निरीह भएकै कारण एकपछि अर्को चिकित्सक र स्वास्थ्य संस्थामाथि हातपात र आक्रमण भएको देखिन्छ,’ उनले भने। करिब दुई साताअघि हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सक कुट्नेलाई कारबाही नभएपछि अन्य ठाउँमा पनि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामामाथि आक्रमणका भएको बस्नेतको बुझाइ छ।
सुरक्षा प्रणाली अत्यन्त कमजोर भएकाले पनि चिकित्सक कुटपिटमा पर्दै आएको डा. बाबुराम मरासिनी बताउँछन्। उनको विचारमा हेटौंडा घटनाका दोषीलाई गृह मन्त्रालयले समयमै कारबाही गर्न नसकेका कारण चिकित्सकमाथि हातपात गर्ने क्रम बढेको छ। उनी भन्छन्, ‘यसको अर्थ देशमा शान्ति, सुरक्षाको स्थिति खस्कँदै गएको बुझिन्छ। शान्ति, सुरक्षा कायम गर्न नेपाल प्रहरी र गृह मन्त्रालय पूरै असफल भएको अवस्था हो यो।’
स्वास्थ्य संस्थामा बिचौलिया गिरोह
चिकित्सकले सेवामा प्रवेश गर्दा आफ्नै शत्रु आए पनि पूरा उपचार गर्ने सपथ लिन्छन्। चिकित्सकले आफूले सेवा प्रवेश गर्दा लिएको सपथलाई शिरोपर गरी सेवा दिन्छन्। तर बिरामी वा मृतकका आफन्त यसलाई बुझ्न नसकी चिकित्सकमाथि राम्रो सेवा नदिएको, सेवा राम्रो नदिएका कारण बिरामीको ज्यान गएको जस्ता आरोप लगाउँदै भौतिक आक्रमणमा उत्रिने गरेको नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा. बस्नेत बताउँछन्।
उनका अनुसार गम्भीर अवस्थाका बिरामी अस्पतालमा ढिला पुग्दा पुग्दाबित्तिकै मृत्यु हुन सक्छ। यस्तो मृत्युको कारण चिकित्सकको लापरबाही हो भनेर बिरामीका आफन्तलाई उक्साएर सांघातिक आक्रमण गर्न लगाउने र क्षतिपूर्ति दिलाइदिने नाममा केही फाइदा लिने गिरोहका कारण पनि समस्या आएको बस्नेतको बुझाइ छ।
डा. बस्नेतका अनुसार चिकित्सकको लापरबाहीका कारणले बिरामीको मृत्यु भएमा कानुनबमोजिम कारबाही गर्न सकिने ठाउँ भए पनि गिरोहकै उक्साहटमा बिरामीका आफन्तले कानुनी उपचारमा नगई स्वास्थ्यकर्मीमाथि आक्रमण गर्छन्। पहिला उपत्यकामा मात्र सीमित यस्तो गिरोह अहिले देशैभरि फैलिएको देखिन्छ।
गिरोहले अस्पतालमा उपचाररत बिरामीको मृत्यु भयो भने आफन्तलाई उचालेर पैसा दिलाइदिने प्रलोभनमा पार्छन्। यही प्रलोभनमा मृतकका आफन्त स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण र तोडफोडमा उत्रिने गरेको डा. बस्नेत बताउँछन्। उनका अनुसार केही महिनाअघि चितवनस्थित एक अस्पतालमा बिरामीको मृत्यु भएपछि यही गिरोहले मृतकका पक्षलाई विरोधमा उतार्यो र पैसा असुलेपछि आन्दोलन फिर्ता लिन लगाएको थियो।
यस्तो गिरोहले वार्तामा बस्नेबित्तिकै कानुनी कारबाहीको सट्टा पैसाको मोलामोलाइ गर्छ। गिरोहका सदस्यले स्वास्थ्य संस्थाबाट असुलेको पैसा धेरै आफूले राख्ने र थोरै मृतक पक्षलाई दिने गरेको पाइएको डा. बस्नेले बताए।
स्वास्थ्यकर्मीमा सञ्चार सीपको कमी
अन्तर्राष्ट्रिय उपचार नियमअनुसार हरेक चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे आफन्तलाई प्रभावकारी सूचना दिनुपर्छ। बिरामीको स्थिति कता जाँदैछ भन्ने सही जानकारी दिने मुख्य कर्तव्य चिकित्सकको जिम्मेवारीभित्र पर्छ। नेपालका धेरैजसो चिकित्सकले राम्रो उपचार गर्दागर्दै पनि यो जिम्मेवारी पूरा गर्न नसकेको जनस्वास्थ्यविद् डा. मरासिनीको बुझाइ छ।
गम्भीर अवस्थामा अस्पताल पुगेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्ने सीप निकै कम चिकित्सकसँग मात्र छ। उनको विचारमा बिरामीको अवस्था र उपचारबारे आफन्तसँग राम्रोसँग कुराकानी गरेमा यो तहको हिंसा हुने सम्भावना कम रहन्छ।
स्वास्थ्यकर्मीमा हुनुपर्ने सञ्चार सीपको कमीले गर्दा राम्रो काम गर्दा पनि अपजसको भारी बोक्नुपरेको डा. मरासिनीको बुझाइ छ। उनका अनुसार त्रिभुवन विश्वविद्यालयमा चिकित्सा शिक्षाको ३० वर्ष पुरानो पाठ्यक्रम अध्यापन गराइन्छ। त्यसमा स्वास्थ्यकर्मीमा हुनुपर्ने सञ्चार सीपको विषय नै समावेश छैन। विकसित मुलुकहरूमा चिकित्सा विषय अध्यापन गराउने विश्वविद्यालयले सञ्चार सीपका विषयमा पनि पाठ्यक्रम बनाएरै पढाउँछन्।
स्वास्थ्यकर्मीमा हुनुपर्ने सञ्चार सीपको कमीले गर्दा राम्रो काम गर्दा पनि अपजसको भारी बोक्नुपरेको डा. मरासिनीको बुझाइ छ। उनका अनुसार त्रिभुवन विश्वविद्यालयमा चिकित्सा शिक्षाको ३० वर्ष पुरानो पाठ्यक्रम अध्यापन गराइन्छ। त्यसमा स्वास्थ्यकर्मीमा हुनुपर्ने सञ्चार सीपको विषय नै समावेश छैन।
उपचार पद्धतिमा आएका परिवर्तन, प्रविधि र सञ्चार सीपका विषयमा पनि चिकित्सकलाई ज्ञान दिनुपर्ने मरासिनीको सुझाव छ। छिमेकी देश बंगलादेशमा यो अभ्यास सुरु भइसकेको उनले बताए। त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयमा पनि चिकित्सा शिक्षा सञ्चार सीपसम्बन्धी पढाइँदैन।
नेपालमा स्वास्थ्यकर्मी र बिरामीबीचको अनुपात नमिल्दा पनि चिकित्सकसहितका स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तसँग प्रभावकारी कुराकानी गर्न सकेका छैनन्। एउटा जिल्ला अस्पतालको डाक्टरले दिनमा २ सय बिरामीसम्म हेर्नुपर्छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत हो।
त्यसैगरी ६ जना बिरामीबराबर एक नर्स हुनुपर्नेमा नेपालमा एक नर्सले २६ जनाको हेरचाह गर्नुपरेको छ। बिरामीको चापअनुसार चिकित्सकसहितका स्वास्थ्यकर्मीको दरबन्दी हुने हो भने कामको भार कम भई शान्त वातावरणमा सेवा दिन र कुराकानी गर्न सकिने डा. बस्नेत बताउँछन्। ‘थाकेका चिकित्सकबाट सबै बिरामी र तिनका आफन्तले चाहेको कुरा नपाउन सक्छन्, सही सञ्चार नहुन सक्छ,’ उनले भने। nagariknews.com