म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको चर्को व्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आज बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच  कार्यक्रममा उद्योगी, व्यवसायीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले बैंक पनि एउटा व्यवसायी भएकाले मुद्रास्फितिअनुसार नेपाल राष्ट्र बैंकले व्याजदर कायम गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले अहिलेको वर्तमान अवस्थामा व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसङ्ग उल्लेख गर्दै बैंकहरुले पनि व्याजदर घटाएर उद्योगी, व्यवसायीहरुलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले कम्तीमा पनि एक वर्षसम्म व्याजदरमा सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै बैंकर्स संघमार्फत राष्ट्र बैंकसमक्ष उद्योगी, व्यवसायीहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले पछिल्लो समय उद्योगी, व्यवसायी अप्ठ्यारो अवस्थामा परेको र व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना भएको बताउँदै बैंकहरुले पनि आ–आफ्नो ठाउँबाट उद्योगी, व्यवसायीको समस्या समाधानमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बैंकहरुले व्याजदर बढाउँदा ऋणीहरुलाई पूर्व जानकारी गराउन माग गर्नुभयो । उहाँले बैंकहरुले लगानी गर्दै आइरहेको शैक्षिण ऋण लगानी गर्ने क्रममा पनि सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उद्योगी, व्यवसायीहरुबाट ऋण असुली नम्र तरिकाले गर्नुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले आठ प्रतिशतमा लगानी गरेरै बैंकले एकैपटक व्याजदर १२ प्रतिशतमा पु¥याउँदा उद्योगी, व्यवसायीहरु समस्यामा परेको बताउँदै बैंकहरु आफूसँग पनि स्पष्ट योजना नभएको आरोप लगाउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बैंक तथा वित्तीय संघसंस्थाहरुले बेनीबजारमा ग्राहक पहिचान गर्न एकदमै सहज अवस्था रहेको बताउँदै बैंक र उद्योगी व्यवसायीको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभएको छ ।

संघका द्वितीय उपाध्यक्ष लिलाराम गौतमले आठ प्रतिशतमा सम्झौता गरेको ऋण लगानीको व्याजदर एक्कासी १२ प्रतिशतमा पु¥याउँदा उद्योगी, व्यवसायीहरुलाई समस्या भैरहेको गुनासो गर्नुभयो । महासचिव अमित बानियाँले ऋणीलाई थाहै नदिइकन व्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताउनुभएको थियो ।

अन्तत्र्रिया कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीहरुले उठाएको प्रश्नको जवाफ दिँदै बैंकर्स क्लब म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बैंकको व्याज दिने र लिने दुवै नीति रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक म्याग्दी शाखाका शाखा प्रवन्धक समेत रहनुभएका अध्यक्ष ढुङ्गानाले अहिले व्याजदरको विषयमा हरेक महिनाको अन्तिम दिन राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन हुँदै आएको बताउनुभयो । राष्ट्र बैंकको नीतिअनुसार व्याजदर परिवर्तन हुने भएकाले पहिला ग्राहकलाई जानकारी दिने गरिएकोमा अहिले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेपछि पुग्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्नका लागि बैंक तथा वित्तीय संघसंस्थाहरुले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले बैंक तथा वित्तीय संस्थाले उद्योगी, व्यवसायीलाई कर्जा लगानी र असुलीको सन्दर्भमा सहजीकरणका लागि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि म्याग्दी उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायी र बैंकर्सहरुसँग पुनः छलफल तथा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिने जानकारी समेत दिनुभयो । यसअघि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले पारेको असर तथा पछिल्लो समय रुस–युक्रेन बीचमा भैरहेको लँडाइले नेपाली बजारमा विभिन्न समस्याहरु निम्तिएको बताइएको छ ।

कोरोना भाइरसले पु¥याएर असर कम नहुँदै रुस–युक्रेन लँडाइले दैनिक उपभोग्य सामान आयात, बैंक तथा वित्तीय संघसंस्थाले गर्ने लगानीमा समस्या भैरहेको छ । अहिले उद्योगी, व्यवसायी व्याजदर तथा उपभोक्ताहरु बढ्दो महङ्गीको मारमा परेका छन् ।

 

Leave a Reply