म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल कबर्डहलमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता–२०८० सुरु भएको छ । म्याग्दी कोरला यातायात प्रालिको आयोजना र जिल्ला व्याडमिन्टन संघ म्याग्दीको सहआयोजनामा दोस्रो व्याडमिन्टन कप प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जिल्लामा खेलकुदजन्य गतिविधिहरु सञ्चालन र खेलाडीको विकास गर्न जोड दिइएको बताउनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिको पलहमा कालीपुलको कबर्डहललाई नयाँ र व्यवस्थित बनाइएको समेत जानकारी दिनुभयो ।

बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँले खेलाडीहरु अनुशासनपूर्वक प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने बताउँदै खेलकुदजन्य गतिविधि सञ्चालन र खेल क्षेत्रको विकास गर्नका लागि वडा तथा नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि भेट्रान्स १६ टिम, गण्डकी प्रदेशस्तरीय खुलातर्फ १६ टिम र म्याग्दी जिल्लास्तरीय ‘सि’ लेबलको ४८ टिम सहभागी भएको प्रतियोगिताका सचिवालय व्यवस्थापक सचिन शाक्यले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत उद्घाटन अर्थात् पहिलो खेल निरज भण्डारी र सुरेन्द्र अधिकारीसँग आयोजक मोहन केसी र बिक्रम सुवेदीले प्रतिस्पर्धा गनुृभएको थियो ।

प्रतियोगिताको उद्घाटनसत्र म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीको अध्यक्षता, जिल्ला व्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्कीको स्वागत र नगरपालिका व्याडमिन्टन संघका सचिव लोकेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply