गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हरेक विद्यार्थीहरुमा वित्तीय चेतना जरुरी रहेको बताएका छन् । आइतबार बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पसमा आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अन्य शिक्षाहरु जस्तै वित्तीय शिक्षा पनि विद्यार्थीहरुले लिनुपर्ने उनले बताएका हुन् ।

वित्तीय शिक्षा जीवन उपयोगी शिक्षा भएको भन्दै सीईओे ढकालले वित्तीय शिक्षा लिन विद्यार्थीहरुलाई अनुरोध गरे । कार्यक्रममा सीईओ ढकालले नेपाली बैंकहरु प्रविधिको रुपमा पनि धेरै अगाडि बढ्दै गएको बताए । अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरु नेपाली बैंकहरुले प्रयोग गरेको भन्दै उनले प्रविधिको माध्यमबाट सहजै वित्तीय सेवाहरु लिन सकिने समेत बताए।

स्नातक तह अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा गरिमा विकास बैंकका जोखिम व्यवस्थापन विभाग प्रमुख दिपकराज भण्डारीले क्लास लिएका थिए । भण्डारीले नेपालमा बैंक तथा वित्तीय संस्था, बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा साथै बचतको आवश्यकता र महत्वबारे बताए ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय प्रमुख अतिथिको रुपमा सहभागी थिए भने गरिमा विकास बैंकका सामान्य सेवा विभागका प्रमुख अनुमान श्रेष्ठ, बैंकका गण्डकी प्रदेश प्रमुख भोला तिवारी लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply