बेनी नगरपालिका वडा नं २ का ज्येष्ठ नागरिकलाई थर्मस वितरण गरिएको छ । वडाभित्रका ८५ बर्षभन्दा माथिका २८ ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर थर्मस वितरण तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको हो । कुल ५० हजार बजेटमा समय-समयमा तातोपानी पिउनका लागि थर्मस वितरण गरेको वडाध्यक्ष याम कार्कीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भए पनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वडा अध्यक्ष कार्कीको भनाई छ । सबैजसो जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर सेवा दिने गरी वडाले आगामी दिनमा समेत सहज योजना बनाउने अध्यक्ष कार्कीले बताउनुभयो ।

वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या धेरै भएकाले यसपटक ८५ माथिकालाई वितरण गरिएको र आगामी बजेटमा विभिन्न कार्यक्रममार्फत समेट्ने वडा कार्यालयले जनाएको छ । भौगोलिक रुपमा छरिएको बस्ती भएकाले वडाबासीको सहजताका लागि प्रत्येक आइतबार र सोमबार सदरमुकाम बेनीको वडा नं २ बाट वडाको सेवा दिने गरेको छ।

 

Leave a Reply