पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खुलेको छ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक आज मङ्गलवार दिउँसाेदेखि सञ्चालनमा आएकाे हो ।

हिजाे सोमवारदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडक खण्डको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, कुलौटे, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको गुईँठेमा अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलाइएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाको डोजर र प्राविधिकसहितको जनशक्ति परिचालन गरी पहिरो पन्छाइएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँबरले बताउनुभयो । सडक खुलेसँगै बीच बाटोमा रोकिएका गाडी गन्तव्यतर्फ लागेकाे उहाँले बताउनुभयाे । बाटाे अवरुद्ध हुँदा पर्यटक, मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्री समस्यमा परेका थिए ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम अहिले पनि चलिरहेकाे छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिन्छ ।

यसैबीच पहिरोकै कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक खण्ड भने अझै सञ्चालमा आउन सकेकाे छैन । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ घुमाउनेभीर र मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोको जोखिम रहेकाले सडक खुलाउन सकिएको छैन ।

पश्चिम म्याग्दीको मंगला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक म्याग्दीको ‘लाइफलाइन’ को रूपमा मानिन्छ । यो सडक खण्ड वर्षाकाे समयमा अवरुद्ध हुँदै आएकाे छ । अहिले यस सडक खण्डमा पनि स्तरोन्नतिको काम चलिरहेकाे छ ।

Leave a Reply