---Advertisement---

पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

On: October 4, 2023 11:13 AM
Follow Us:

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने मालढुङ्गा–बेनी सडक गत सोमबार साँझदेखिको निरन्तर वर्षाका कारण झरेको पहिरोले अवरुद्ध भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार लगातारको वर्षाको कारण जमिन गलेपछि मालढुंगा–बेनी सडक अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट पहिरो झरेको छ।

वर्षाका कारण पहिरो पन्छाउने अवस्था नहुँदा बुधबार बिहानैदेखि मुस्ताङ र म्याग्दीबाट बागलुङ, पर्वत, कास्कीको पोखरा लगायत ठाउँमा सवारीसाधन रोकिएका छन्।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलन चोकमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीमा रोकिएका छन्। केही साना सवारीसाधन भने बागलुङबाट म्याग्दी हुँदै पुनः पर्वतमा नै जोडिने वैकल्पिक सडकको प्रयोग गरिरहेका छन्।

‘लगातारको वर्षाको कारण जमिन गलेको छ। ठूलो वर्षा नभए पनि सानो वर्षा निरन्तर हुँदा केराबारीमा पहिरो खसेको छ। अहिले पनि वर्षा भइरहेकोले पहिरो पन्छाउन सम्भव देखिएको छैन’, ट्राफिक प्रहरी प्रमुख निउरेले भने, ‘वर्षा भइरहने हो भने मध्यपहाडी लोकमार्ग अन्तर्गत चुवादेखि अम्बोटसम्मको खण्डमा पनि पहिरो झर्न सक्छ। चुवा क्षेत्रमा पहिरो झरेमा पन्छाउन पनि समस्या नै हुने गरेको छ।’

भीर काटेर खनिएका सडकहरूमा माटो गलेर पहिरो झर्ने क्रममा विगतदेखि चुवा र अम्बोटको क्षेत्रका सडकमा विगतदेखि नै पहिरो झर्ने गरेको छ। मालढुंगा–बेनी सडकमा पहिरो खस्दा म्याग्दी र मुस्ताङका सवारीसाधन मात्रै रोकिन्छन्। तर मालढुङ्गाबाट पर्वततर्फको मध्यपहाडी लोकमार्गको जुन भागमा पहिरो खसे पनि  दुई जिल्ला सहित बागलुङ र पर्वतमा आउजाउ गर्ने सवारीसाधन समेत रोकिन्छन्। केहि साना सवारीसाधनहरु भने बागलुङतर्फवाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गईरहेको प्रहरीले जनाएको छ ।