पश्चिम म्याग्दीको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा(हाब्रे) देखिन थालेको छ। म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङको जलजला जंगलमा रमाइरहेको अवस्थामा यूवा सुवास थापाले दृष्य लिएका छन् ।

लजालु स्वभाव रहेको रेडपाण्डाले पदैलयात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब २ मिनेट ९ सेकेण्डको भिडियोमा देखिन्छ । करिब ७ बर्ष विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो।

अनुसन्धानकर्ता बन्द्री पाण्डेल लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारेपनि प्रत्यक्ष देखेका थिएनन् ।

रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालिन समयमा जिल्ला बन कार्यालय तथा स्थानीयबासीसँगको सहकार्यमा गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामुलक कार्यक्रम सहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुइमा झर्ने गरेको रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भएपनि देखिन छाडेका थिए ।

गुर्जा र लुलाङको जंगलमा रहेका रेडपाण्डाको गणना नभएपनि प्रसस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा समुदायस्तरमा गरिएको अभियान प्रभावकारी भए पनि नियमित कार्यक्रम नहुदाँ समस्या भएको थियो ।

सर्वसाधारणले रेडपाण्डाको भिडियो खिचेपछि धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामुलक अभियान सञ्चालन गरिने बताए ।

‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,‘रेडपाण्डाको अनुसन्धानका लागि गन्तब्य बनाउने अवसर पनि हो’अध्यक्ष पुनले भने । रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन,जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा मा पर्याप्त छ। समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ। रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ। रेडपाण्डाको चोरीशिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

Leave a Reply