भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानो नै उडाउने, भूकम्पले चिराचिरा परेको विद्यालय भवनमा विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य थिए । टिनको छाप्रो उडाएर विद्यालयभित्रै विद्यार्थीको ज्यान गयो, केही घाईते भए, शिक्षक समेत त्रसित भएर पढाउनुपर्ने बाध्यता ।

करिब आधादशक अगाडीसम्म डरलाग्दो अवस्थामा पठनपाठन गरेका म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।

विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत गरेका छन्।

वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको छ । विद्यालय भवन संगै प्रवेशद्धार, खेलमैदान र प्याराफिट निर्माण सहित विद्यालयलाई घेरावार समेत गरिएको छ ।

छरिएर रहेका साना– साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानध्यापक भोजबहादुर जिसीले बताए । ‘साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुननिर्माणसंगै हटेको छ,‘अब भौतिक पूर्वाधारको कुनै समस्या हुदैन’ प्रअ जिसीले भने ।

गाउँका बालबालिकाहरुले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहज रुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयबासीले प्रवासीहरुको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।

प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको भकिम्लीका अगुवा पृथबहादुर पुनले बताए । उनले विद्यालय जोगाउन तत्कालिन समयमा गोठको भैसी बेचेर समेत सहयोग गरेको बताए ।

समुदायको अग्रसरतामा संघ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुननिर्माणमा राहत भएको उहाँको भनाई छ । यस भवन बनाउने अभियानमा नगद रु ५ सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेका छन् ।कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिकाहरु अध्ययनरत छन् ।

यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवन सहित कम्प्युटल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्ष लगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको छ ।विद्यालय भवन पुननिर्माणमा समुदायका मात्रै २१२ जना व्यक्तिगत चन्दादाता छन् ।

अमेरिका, यूके र बेल्जियम,हङकङ, स्पेन, दुबै, साउदी र जापानमा रहेका भकिम्लीबासीको अगुवाईमा संकलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए ।

उनका अनुसार हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुननिर्माण अभियानमा बजेट उपलब्ध गराएको छ । विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट रु ३ करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ। कुल लागतको आधा भन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीबासीकै नेतृत्व र अगुवाईमा जुटईएको हो।

पुरानो भवन जिर्ण भएको कारण गाउँका सबै सरोकारवाला र प्रवासीहरुमा बृहत छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधा सम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष पदम बहादुर पुनले बताए । तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।

वि.स. २०२८ सालमा प्राविबाट निमावि तहमा स्तरउन्नती भएको यो विद्यालयमा वि.स. २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरबृद्धि गरिएको थियो । लामो समयसम्म नीजि स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनिय योगदान गर्दै आएका छन् ।

तत्कालिन समयमा पिपलको बोट मुनीको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको यो सुविधासम्पन्न भौतिक पूर्वाधारयुक्त बन्ने ठाउँसम्म ल्याइपु¥याउन भकिम्लीका शिक्षाप्रेमी, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवाक्लब, आमा समूह, स्वदेश तथा विदेशमा छरिएका भकिम्लीबासीको योगदान अतुलनीय छ ।

Leave a Reply