‘रुन कारण चाहिन्छ, मुस्कुराउन कुनै कारण चाहिन्न,’ विश्व मुस्कान दिवसको अघिल्लो दिन बिहीबार ललितपुरको पाटन दरबार क्षेत्रमा भेटिएका ६४ वर्षीय पूर्ण व्यञ्जनकारले भने, ‘कहिले सुख सम्झेर मुस्कुराउँछु, कहिले दुःख बिर्सेर।’
संसारभर विश्व मुस्कान दिवस मनाइरहँदा व्यञ्जनकार आफ्ना दौतरीसँग घाम ताप्दै रमाइरहेका थिए। आर्थिक अभावका कारण जीवन केही असहज भए पनि रोग नलागी बाँच्न पाएकोमा उनी खुसी देखिन्थे। ‘हामीलाई यस्तो दिवस, उस्तो दिवस के भन्ने थाहा छैन,’ उनले भने, ‘तर हामी सधै यसैगरी रमाएकै हुन्छौं।’
व्यञ्जनकारले भनेजस्तै प्रायः नेपाली मुस्कुराइरहेका भेटिन्छन्। भक्तपुरका पाटीमा होस् या खोकनाका गल्लीगल्लीमा मुस्कानको कमी देखिन्न। लेकमा होस् या तराईका फाँटमा सबैतिर मुस्कान छरिएका छन्।
अचम्म लाग्दो के छ भने ओरालो लाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य, अन्योलग्रस्त समाजले कुनै हालतमा पनि मुस्कुराउन छाडेको छैन। ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’मा त नेपाल दक्षिण एसियाकै खुसी मुलुकमा स्थापित भएको छ।
आचार्य ओशो धारा चिन्तारहित हुनु नै मुस्कानमा रहनु हो भन्छिन्। मुस्कान हामीभित्रको गुण भएको उनी बताउँछिन्। ‘चिन्ता नलिनु नै मुस्कुराउनु हो। चिन्ताले मुस्कान रोक्छ,’ उनी भन्छिन्, ‘मुस्कान नै जीवन हो।’
मनोसामाजिक परामर्शदाता शर्मिला महर्जन मुलुकको मनोसामाजिक अवस्थाले खुसी बनाउने र मन खुसी भएपछि मान्छे मुस्कुराउने धारणा राख्छिन्। नेपालीमा एकअर्कामा प्रतिस्पर्धाको भावनाभन्दा पनि ख्याल गर्ने भावना धेरै रहेकाले अभावका बीच पनि मुस्कान भेटिने गरेको सुनाउँछिन्। ‘जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अरूको केयर गर्ने नेपाली मन मरेको छैन,’ उनी भन्छिन्, ‘हाम्रो मुस्कानको राज पनि यही हो।’ भूकम्पको कठिन समयमा समेत नेपाली समाजले मुस्कान नभुलेको उनको बुझाइ छ।
अर्को कुरा आम नेपालीमा रहेको आध्यात्मिक पक्षले पनि मुस्कानलाई जीवन्त राखेको छ। ‘मरेपछि के लाने हो र भन्ने मान्यता नेपाली समाजमा अझै देखिन्छ,’ काठमाडौं जोरपाटीका वसन्त घिमिरे भन्छन्, ‘आध्यात्मिक चेतनाले पनि मुस्कानलाई जीवन्त राखेको छ।’
त्यस्तै सकारात्मक भाव राख्ने नेपालीलाई मुस्कुराउन कुनै ठुलो कारण चाहिन्न। नेपाली भएका कुरामा मात्र हैन, नभएकामा पनि खुसी हुन्छन्। खेती सकाएपछि किसान मुस्कुराउँछन्। परीक्षा सकिएपछि विद्यार्थी मुस्कुराउँछन्। ‘मान्छे मुस्कुराउँदा ऊ आफूमात्र हैन, अरूलाई पनि खुसी तुल्याउँछ,’ आचार्य ओशो धारा भन्छिन्, ‘मुस्कानले घरपरिवारमात्र हैन, बिथोलिएको समाजलाई समेत जोड्छ।’