खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

खाद्यले दसैंमा एकहजार वटा च्यांग्रा र दुइहजार खसीबोका खरिद गर्ने तयारी गरेको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुस्ताङका प्रमुख ललीतकुमार यादवले योपटक मुस्ताङी च्यांग्रा राजधानी लैजाने कुनै तयारी नभएको बताए। ‘हामीले च्यांग्राबारे मुस्ताङको गाउँगाउँमा गएर बुझ्यौ, तर, मुस्ताङबाट भने खरिद नगर्ने भन्ने जानकारी आएको छ,’ यादवले भने, ‘च्यांग्राबारे आवश्यक जानकारी लिएपनि केन्द्रले यो पटक मुस्ताङबाट खरिद नगर्ने भन्ने जानकारी दिएको छ।’

केन्द्रको निर्देशन अनुसार मुस्ताङका गाउँगाउँमा गएर च्यांग्राबारे भाउ बुझेको भएपनि नकिन्ने निर्णय भएको उनले बताए। ‘भाउ पनि बुझियो, मौखिक कुरा पनि भयो। तर, मुस्ताङमा नकिन्ने भन्ने जानकारी आएको छ,’ उनले भने। मुस्ताङका स्थानीय किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ११ सय देखि ११ सय ५० रुपैयाँसम्म तोकेको उनले बताए।

‘किसानले जिउँदाेको च्यांग्राको मूल्य प्रतिकिलो ११ सय रुपैयाँ भन्दा तल नघट्ने भनेका छन,’ उनले भने, ‘खाद्यले सुरुमा एकहजारवटा च्यांग्रा किन्ने भनेको पनि हो। तर, मुल्य बढी परेकोले मुस्ताङका साटो अन्य जिल्लाबाट किन्ने तयारी भएको छ।’ यादवका अनुसार खाद्यले २०७६ पछि मुस्ताङबाट दसैंमा च्यांग्रा किनेको छैन। त्यसअघि हिमाली जिल्ला मुस्ताङबाट खाद्यले दसैंको अवसरमा एकहजार हाराहारीमा च्यांग्रा किनेर राजधानी लगेर बिक्री गर्ने गरेको थियो।

मुस्ताङका स्थानीय किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ११ सय देखि ११ सय ५० रुपैयाँसम्म तोकेका छन्। खाद्यले २०७६ पछि मुस्ताङबाट दसैंमा च्यांग्रा किनेको छैन। त्यसअघि हिमाली जिल्ला मुस्ताङबाट खाद्यले दसैंको अवसरमा एकहजार हाराहारीमा च्यांग्रा किनेर राजधानी लगेर बिक्री गर्ने गरेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार एकहजार च्यांग्रा र दुईहजार खसीबोका गरि दसैंमा तीनहजार चौपाया खरिद गर्ने खाद्यको तयारी छ। त्यसका लागि आठकरोड ३६ लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ। खसीकोबाट मकवानपुर, दाङ र धादिङ लगायतका जिल्लाबाट खरिद गर्ने तयारी रहेको उनले बताईन। खाद्यले पोहोरको दसैंमा सबैगरि १६ सय २५ खसीबोका र च्यांग्रा खरिद गरेको थियो। ती मध्ये १६२ वटा मात्र च्यांग्रा दार्चुलाबाट खरिद गरेको थियो।

‘यो पटक मुस्ताङका च्यांग्राको मूल्य बढी पर्ने देखियो । त्यही भएर च्यांग्रा भने रसुवाबाट खरिद गर्ने तयारी छ,’ सूचना अधिकारीले सुवेदीले भनिन, ‘मुस्ताङमा पर्याप्त मात्रामा पनि पाइएन। अनि मूल्य पनि बढी प¥यो। त्यसले गर्दा मुस्ताङको साटो रसुवाबाट किन्ने तयारी छ।’ रसुवाबाट ६ सय वटासम्म च्यांग्रा खरिद गर्ने तयारी भएको उनले बताईन। एकहजार वटा च्यांग्रा किन्ने लक्ष्य भएपनि ६ सय जति मात्र किन्ने योजना बनेको उनले सुनाईन।

‘महंगो बजार मूल्यलाइ नियन्त्रणका लागि खाद्यले दसैंमा खसीबोका र च्यांग्रा किन्ने गरेको हो। तर, खाद्यले किनेको चौपायाको मूल्य अरुको तुलनामा झनै महंगो पर्ने अवस्थामा बजार हस्तक्षेप हुन सक्दैन। महंगो बजारलाई हस्तक्षेप गर्नका लागि चाँडबाँडका बेला च्यांग्रा र खसीबोका किन्ने गरेका भएपनि त्यो अवस्था देखिए,’ उनले भनिन, ‘बजार हस्तक्षेप हुन सक्ने अवस्था नदेखिएपनि मुस्ताङको साटो रसुवाबाट किन्ने निर्णय भएको छ।’ मुस्ताङको भन्दा केही सस्तोमा रसुवामा पाइएको उनले बताईन।

मुस्ताङमा भनेजनि च्यांग्रा नपाएको र मूल्य पनि बढी पर्ने देखिएपछि अन्य जिल्लाबाट किन्न थालेको उनले सुनाईन। उनका अनुसार असोज २९ गतेसम्म काठमाडौं ल्याउने र ३० गतेदेखि बिक्रीका लागि राख्नेगरि खाद्यले खसीबोका र च्यांग्रा खरिद गर्न थालेको हो। मुस्ताङमा खरिद गरिएका च्यांग्रा हिडाएरै म्याग्दीसम्म झार्ने र त्यसपछि काठमाडौंसम्म लैजाँदा थप महंगो पर्ने गरेको थियो।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन। तिनै च्यांग्रा किसानसँग किनेर अरु व्यवासायीले पोखरामा बेच्नका लागि झार्छन्। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्यागं्राको मासु बढि स्वादिलो हुने भन्दै चितवन, रुपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन।

Leave a Reply