२२ आश्विन २०८०, सोमबार । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा भलिबल प्रतियोगिता हुने भएको छ । विद्यालयको आयोजनामा नेपालीहरुको महान् पर्व विजयादशमी–२०८० को पूर्वसन्ध्याको अवसर पारेर जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

यही असोजको अन्तिम साता अर्थात् २४ गतेदेखि २७ गतेसम्म छात्र भलिबल प्रतियोगिता सञ्चालनकोतयारी थालिएको आयोजक विद्यालय जनकल्याण माविले जनाएको छ । विगतको वर्षमा झैँ यसवर्ष पनि जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हुँदा जिल्लाका सबै माध्यमिक विद्यालयहरुमा पत्राचार गरिसकिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । भोलि मङ्गलवार अर्थात् २३ गतेसम्म नामदर्ताको लागि समय तोकिएको छ भने २४ गते बिहान १० बजेदेखि भलिबल प्रतियोगिता सुरु हुने प्रअ पौडेलले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागी विद्यालयलाई नामदर्ता शुल्क दुईहजार रुपैयाँ तोकिएको छ । यसैगरी प्रतियोगिताबाट प्रथम हुने विद्यालयले नगद एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले नगद ६० हजार रु पैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कारस्वरुप पाउनेछन् । विद्यालयहरुको बीचमा आपसी सम्बन्ध कायम गर्ने र विद्यार्थीहरुको खेल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । २०१४ सालमा स्थापना भएको यस विद्यालयले शिक्षण क्रियाकलापसँगै खेलकुद तथा सांस्कृतिकलगायत विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरुमा पनि जोड दिँदै आएको जानकारी दिएको छ ।

गएको वर्ष र अघिल्लो वर्षमा जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हुँदा यसवर्ष पनि प्रतियोगितालाई
निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले बताउनुभयो । बाल कक्षादेखि हाल १२ सम्म अध्ययन तथा अध्यापन हुँदै आइरहेको जनकल्याण माविमा अहिले विभिन्न तह र श्रेणीका १९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । यस विद्यालयमा अवेचौर, पुरुन्डी, पुलाडाँडा, पुलाचौर, नयाँगाउँ, चिप्लेटी, गाजने, डडुवालगायत स्थानबाट विद्यार्थीहरु नियमित रुपमा अध्ययन गर्न आउँछन् ।

Leave a Reply