म्याग्दीमा आज (सोमबार) १४९औं विश्व हुलाक दिवस विविध कार्यक्रमको आयोजना गरेर मनाइएको छ । दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, इलाका तथा अतिरिक्त हुलाक कार्यालय परिसरमा सरसफाइ गर्नुका साथै साँझमा दिपावली र जिल्लामा मूल कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

जिल्ला हुलाक कार्यालयमा आयोजित एक समारोहबीच कार्यालयमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न ५ जना कर्मचारीहरुलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ । विश्व हुलाक दिवसको अवसरमा सम्मानित हुनेहरुमा कार्यालयका खरिदार रुपा शर्मा, हुलाकी तप्तबहादुर कार्की, हल्काराद्वय शारदा शर्मा र चन्द्रबहादुर केसी तथा कार्यालय सहयोगी तुलबहादुर खत्री रहनुभएको छ ।

उहाँहरुमध्ये हल्कारा केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अन्यलाई खादा लगाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । उहाँहरुलाई जिल्ला हुलाक कार्यालय म्याग्दीका निमित्त प्रमुख एवं जिल्ला हुलाक अधिकृत रमेश अधिकारीले सम्मान गर्नुभएको थियो । कार्यक्रम निमित्त कार्यालय प्रमुख अधिकारीको अध्यक्षता, खरिदारद्वय मिनबहादुर बरुवालको सञ्चालन र रामप्रसाद रोकाको स्वागतमा सम्पन्न भएको थियो । प्रविधिको बढ्दो विकाससँगै हुलाकको महत्व बढेको र सञ्चार सेवाको आधिकारिक माध्यम हुलाक नै भएको प्रमुख अधिकारीले बताउनुभयो ।

सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ तारिखका दिन विश्व हुलाक दिवस मनाउने गरिएको छ । हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाको रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो । तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले नागरिकको घरदैलोमा सेवा पु¥याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँचको कारणले गर्दा पछिल्लो समय हुलाकको अस्तित्व जोखिममा पर्न थालेको छ ।

एक दशक अघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पु¥याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारीहरु बताउँछन् । हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएको कारण संयुक्त राष्ट्रसंघको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ । तर, हुलाकलाई आधुनिकीकरण गर्न सरकारको तर्फबाट पनि कुनै पहलकदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको जानकारहरुले बताएका छन् ।

विगतमा व्यक्तिगत तथा पारिवारीक चिठीपत्रले भरिने हुलाक कार्यालयहरु अहिले भने व्यक्तिगत चिठीपत्र आउन छाडेका छन् । तर समय क्रमसँगै पछिल्लोपटक सरकारी कार्यालय, अख्तियार, बैक तथा वित्तीय संघसंस्थाबाट साधारण एवं रजिष्ट्री चिठीपत्र, कुरियरमार्फत स्वदेश र विदेशमा पार्सलहरु पठाउने, गाउँगाउँमा पत्रपत्रिकालगायत अफिसियल कागजपत्रका लागि हुलाक भरपर्दो सञ्चारमाध्यमको रुपमा मानिन्छ ।

Leave a Reply