विश्वका ८ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आरोही तेन्जेन शेर्पा हिम पहिरोमा हराइरहेका छन्। तिब्बतस्थित १४ औं हिमाल सिसापाङमाको आरोहण गर्ने क्रममा शनिबार हिमपहिरोमा परी उनी हराइरहेका हुन्।

विश्व कीर्तिमान कायम गरेको ७२ दिनमै शनिबार दिउँसो करिब १ बजे हिमपहिरोमा परेका उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन। ‘हामीले त्यहीँ भएका आरोहीहरूको सहयोगमा ७/८ घण्टा खोजी गर्‍यौं तर फेला पार्न सकेनौं,’ तेन्जेन आबद्ध सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले भने, ‘खोजी र उद्धारको क्रममा हामीले उनको झोला मात्र भेट्यौं, अवस्था अझैसम्म अज्ञात छ।’

उनी हिम पहिरोमा परेको खबर पाउनासाथ सेभेन समिट कम्पनीले चाइनिज एम्बेसीलाई जानकारी दिई खोजी तथा उद्धारका लागि हेलिकोप्टर लैजान पहल गरे पनि एम्बेसीले कुनै प्रतिक्रिया नदिएको महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए। ‘हामीले तेन्जेनलगायत आरोहीको खोजीका लागि चाइनिज एजेन्सीलाई पनि खबर गर्‍यौं,’ उनले थपे, ‘एम्बेसीले कुनै प्रतिक्रिया दिएन, त्यसपछि अन्य आरोहीहरूलाई उनको खोजी तथा उद्धारका लागि सहयोग मागेका थियौं।’

सरकारले तत्कालै चिनियाँ दूतावाससँग समन्वय गरी हिम पहिरोमा परेकाहरूको खोजी र उद्धारका लागि पहल नगरेको गुनासो गर्दै महाप्रबन्धक गुरागाईंले भने, ‘राष्ट्रको नाम राखेका कीर्तिमानी आरोहीको खोजी र अन्यको शव छिटो ल्याउने कुरामा सरकार गम्भीर देखिएन।’ उनले २०२३ को अप्रिल २६ देखि सुरु गरेर २७ जुलाईसम्म लगातार आरोहण गरी विश्वमै नयाँ कीर्तिमान कायम गरेका थिए।

शेर्पाले २७ जुलाईमा केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा अरोहणको नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण ३ महिना २ दिन अर्थात् ९२ दिनमा पूरा गरी कीर्तिमान कायम गरेका थिए।

त्यसअघि उक्त कीर्तिमान निर्मल पुर्जा मगरको नाममा थियो। मगरले ६ महिना ६ दिन लगाएर कीर्तिमान राखेका थिए। तर तेन्जेनले ९२ दिनमै १४ वटा हिमाल सबैभन्दा कम समयमा आरोहण गरी मगरको कीर्तिमान तोडी नयाँ कीर्तिमान राखेका थिए। असोज ११ गते विश्व पर्यटन दिवस २०२३ को अवसरमा नेपाल सरकारले नेपालको पर्यटन क्षेत्रमा महŒवपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरेको थियो।

संखुवासभा मकालु गाउँपालिकाका स्थायी बासिन्दा शेर्पाका पत्नीका साथै १३ र १५ वर्षका छोरा छन्। हराइरहेका आरोही शेर्पासँगै अमेरिकी नागरिक गिना म्यारी रुजिल्लोको अवस्था पनि अज्ञात रहेको सेभेन समिटका अध्यक्ष शेर्पाले बताए। उनीसँगैका रसिया, ताइवान, इटालीलगायत मुलुुकका अन्य आरोही भने सम्पर्कमा आएको उनले जानकारी दिए।

सोही हिमपहिरोमा परी नेपाली आरोही गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटु सिसापाङको निधन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। २८ सेप्टेम्बरका दिन सिसापाङबाट आरोहणका लागि हिँडेका उनीहरूले हिमाल आरोहण भने अक्टोबर ३ देखि सुरु गरेका थिए। सोही दिनको हिम पहिरोमा परी अर्का कीर्तिमानी आरोही कामी रिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्रबहादुर तामाङ गम्भीर घाइते भएका छन्। nagariknews.com

Leave a Reply