बेनी नगरपालिकाले बेनीबजार क्षेत्रमा पटकपटकको अनुरोध, सार्वजनिक सूचनालाई पनि अटेरी गरेका अतिक्रमित जग्गा र अव्यवस्थित रूपमा बनाइएका सडक पेटी भत्काउने कार्यलाई तिब्रता दिएको छ । वर्षौदेखि मनपरी संरचना बनाएरका, नगरपालिकाको मापदण्ड मिचेर सडक अतिक्रमणगरी संरचना बनाउने क्रम बढेपछि डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको हो ।

अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन डोजर र नगर प्रहरीलाई परिचालन गरिएको छ भने वडाका जनप्रतिनिधिले समेत अवरोध गर्ने स्थानमा एक्सन लिएका छन् । नगरपालिकाले मेयर सुरत केसीको शिक्षामार्ग र महारानीथानमा आफ्नै लगानी समेत रहेको माउण्ट एभरेष्ट आवासीय माविले मिचेको सडक र घरको अव्यवस्थित पेटी भत्काएर अभियानको सुरू गरेका थिए ।

नगरपालिकाले वडाका जनप्रतिनिधि सहितको टोली खटाएर करिब ५ महिना अगाडी घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा ’रेडमार्क’ लगाएपनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडक पेटी हटाउन सुरू गरेको नगर प्रमुख केसीले बताए ।

उनका अनुसार बेनीबजारभित्र अव्यवस्थित सडक पेटी हटाउन घरधनीले सहयोग गरे थप सहज हुने बताए । यो अभियानलाई नगरपालिका भित्रका सबै अतिक्रमित जग्गा भत्काएर, निजी प्रयोजनमा रहेका संरचना सार्वजनिक हितमा प्रयोग हुने सुनिश्चित सहित मात्रै रोकिने नगरपालिकाले जनाएको छ ।बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो । सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो ।

नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा ब्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत ब्यवस्थित गरिसकेको छ ।

विगतमा नगरपालिकाले कडाइ नगर्दा नगरका धेरै ठाउँ सार्वजनिक जमिन‚ सडक र नाला मिचिएका छन् । वर्षौदेखि मनपरी संरचना बनाएरका, नगरपालिकाको मापदण्ड मिचेर सडक अतिक्रमणगरी संरचना बनाउने क्रम बढेपछि डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । बेनीको बिरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभीर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठााँमा मापदण्ड विपरीतका संरचना छन् ।

नगरपालिकाले यो आर्थिकबर्षभित्र सबै संरचना हटाउने अभियान अन्तरगत बिरेन्द्रचोकमा रहेको १५ वटा सटरपसल तथा ट्यांकी र बसपार्क, कालिपुल र पिपलचोकमा ब्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ भने हटाउन सूचना दिएकालाई कम्तिमा कात्तिक महिनाभित्रै हटाएरै छाड्ने जनाएको छ ।

बेनी नगरपालिकाले नगर क्षेत्र भित्रका सडक नालीसहित १० मिटर हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालयले पहुँचमार्ग बनाएको क्षेत्रमा सडकको चौडाइ ८ मिटरमात्र थियो । विगतमा नगरपालिकाले कडाइ नगर्दा नगरका धेरै ठाउँ सार्वजनिक जमिन‚ सडक र नाला मिचिएका छन्।

 

Leave a Reply