निसिखोला गाउपालिका अध्यक्ष लागुऔसध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।

उच्च अदालत पोखरा, बागलुङ इजलाशको आजको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो ।

हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ पर्नु भएको थियो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालिन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई उहाँकै घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। घर्ती नेपाली काँग्रेसबाट निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । फैसलाको पूर्ण पाठ आउन बाँकी छ। आदर्श अनलाइनबाट साभार

Leave a Reply