म्याग्दीबाट रोजगारको सिलसिलामा इजरायलमा पुगेका म्याग्देलीको विवरण संकलन सुरू भएको छ । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट १० नेपालीको मृत्यु भएपछि असुरक्षित महसुस गरिएकाले रोजगारको सिलसिलामा पुगेका म्याग्देलीको जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहले वडास्तरबाट विवरण संकलन सुरु गरेको हो ।

स्थानीय तहले संकलन गरेको विवरण तत्काल जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा पठाइने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । हालसम्म म्याग्दीबाट इजरायलमा गएका सबै सुरक्षित रहेको बताइएको छ ।

विवरणमा समस्यामा परेकालाई उद्धार गर्न र त्यहाँ बस्न चाहनेहरुलाई समेत थप सतर्कता अपनाउन विवरण संकलन गरिएको जनाइएको छ । म्याग्दीका सबै स्थानीय तहले सुरु गरेको विवरण संकलनको क्रममा अहिलेसम्म सबै यूद्ध भएको क्षेत्रबाट सुरक्षित स्थानमा पुगेको बताइएको छ भने बंकरमा बसेकाहरु समेत कोठामा फर्किएका छन् ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन समेत नेपाल सरकारले अपिल समेत गरेको छ ।

Leave a Reply