म्याग्दी नदी माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।

झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुुसार, मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग ,टीवीएसयु र पीटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीबासीको श्रमदान गरी ५९ लाख नौ हजार ३६५ रुपैयाँ लागतमा १ सय १४ मिटर लामो पुल निर्माण गरिएको हो । उक्त पुलबाट ४ सय ६५ जनसंख्या लाभान्वित भएका छन् ।

वि.सं. २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो। पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने बताउँदै सांसद पुल संरक्षणको लागि सरकार सँगै स्थानीयबासीको समेत दायीत्व भएको उहाँले बताउनुभयो । उहाँले विकासको लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको ‘लाईफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेत पहिरो विकल्पमा  मङ्गला गाउँपालिकाको वडा नम्बर ३ लुलियाघाँट र वडा नम्बर २ स्थित सिमलचौर जोड्ने म्याग्दी नदि माथि बेलीब्रिज निर्माण तथा वैकल्पिक सडक निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो। बेनी–दरबाङ सडकको निरिक्षण पछि सांसद गर्बुजाले चावपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख सडकको स्तरोन्नती गरी आवतजावतलाई सहज बनाउन पुर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेललाई निर्देशन दिनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बजा,कांग्रेस म्याग्दीका सचिव भरत रकाल ,वडा नम्बर १ का अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका,पीटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह,मिलन म्यागदीका  प्राविधिक यामबहादुर बिक लगायतले पुल निर्माण भएपछि स्थानीयबासीलाई आवतजावत,सामान ढुवानी संगै उनिहरुको दैनिकी जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष मल्लले पुल निर्माण सम्पन्न भएपनि गाउँपालिकाबाट दश लाख रुपैयाँ मात्र रकम भुक्तानी भएको बताउँदै बाँकी रकम भुक्तानीको लागि सहजीकरण गरिदिन गाउँपालिका अध्यक्ष गर्बुजालाई आग्रह गर्नुभयो । निर्माण उपभोक्ता समितिका सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Leave a Reply