---Advertisement---

नागरिकको रक्षा गर्नु राज्यको कर्तव्य : गुरुङ

On: October 10, 2023 10:29 PM
Follow Us:

नेकपा एमालेका केन्द्रीय कमिटिका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यका नागरिकको जिउधनको रक्षा गर्नु राज्यको कर्तव्य र दायित्व रहेको बताउनुभएको छ ।

अध्ययनको शिलशिलामा राज्य तहबाटै इजरायल पुगेका १० जना नेपालीको मृत्युभएको शोकमा आयोजित शोक सभामा बोल्दै गुरुङले सबै नागरिकको जिम्मेवारी राज्यको हुने बताउनुभयो । उहाँले नेपाली नागरिकको रक्षा गर्नु राज्यको दायित्व हो र त्यो दायित्वबाट सरकार पन्छिन नहुने बताउनुभयो ।

नेकपा एमाले म्याग्दीले आयोजना गरेको शोकसभामा बोल्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरुङले नागरिकले ज्यान गुमाउनु भएको छ कतिपय जोखिममा हुनुहुन्छ उहाँहरुको अवस्थाबारे जानकारी लिने र उद्धारमा राज्य अगाडी देखिनु पर्ने बताउनुभयो । कुनै पनि ठाउँमा नेपालीहरु जोखिममा परेका छन् भने उनीहरुको तत्काल उद्धारका लागि राज्य चनाखो हुनु पर्ने तर्फ सचेत रहन सरकारलाई आग्रह गर्नुभएको थियो ।

नेकपा एमालेकी स्थायी कमिटि सदस्य एवम् पूर्व महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममायाँ थापाले सिप सिकेर देशका लागि केही गर्छु भनेर इजरायल पुगेका नागरिकको मृत्यु हुँदा देशले ठूलो क्षती व्यहोर्नु परेको भन्नुभयो । उहाँले देशका नागरिकहरुको अवस्थाबारे जानकारी राख्नु र उनीहरुको सुरक्षित बसाइ र नेपाल फर्कन चाहनेका लागि उद्धारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपाली, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले म्याग्दीकी उपसचिव थमसरा पुनले गर्नुभएको थियो ।