म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा आज (बुधवार)देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न तथा विद्यालयहरुको बीचमा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले विद्यालयको विकास गर्न तथा शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउँदै यसको साथमा भलिबललगायत अतिरिक्त क्रियाकलापहरुको सञ्चालन गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभएको थियो ।

विद्यालयका पूर्व अध्यक्षद्वय माधवप्रसाद रेग्मी र रामप्रसाद सुवेदीले आफूहरुको कार्यकालमा विद्यालयको विकासका लागि विभिन्न खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गरी विद्यार्थीहरुको आकर्षण बढाउन पहल गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यार्थीहरुलाई नियमित शिक्षासँगै खेलकुदतर्फ पनि रुचि बढाउने उद्देश्य राखिएकाले आफ्नो कार्यकालमा लगातार तीन वर्षसम्म जिल्लास्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको आयोजना गरी निरन्तरता दिइएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, पौलस्त्य माध्यमिक विद्यालय भिरमुनीका शिक्षक तथा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठ र विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष बानियाँको अध्यक्षता, प्रधानाध्यापक कमलप्रसाद पौडेलको स्वागत र शिक्षक रेशम बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको पहिलो अर्थात् उद्घाटन खेल महेन्द्र मावि झिँ र गलेश्वर मावि तोरीपानीको बीचमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा गलेश्वर माविले महेन्द्र माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । आउँदो शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लास्थित विभिन्न विद्यालयहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply