---Advertisement---

मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिम चरणमा

On: October 12, 2023 3:32 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको बेनीमा हुने पाँचौ महाधिवेशनको तयारी  पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो ।
असोज २६ गते (शुक्रबार) बेनीको खुल्लामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार, छपाई, अतिथि सत्कार, लगायतका कार्यहरुको तयारी तीव्ररुपमा अगाडि बढेको मोनाले जनाएको छ । महाधिवेशनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा भाग लिन विभिन्न मुलुकमा रहेका म्याग्दी प्रवासी नेपाली संघको राष्ट्रिय कार्यकारी समितिबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको मोनाका बरिष्ठ ददिवल खड्काले जानकारी दिनुभयो । आगामी नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष ददिवल खड्का र सल्लाकार मिम पुर्जाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रवासमा रहेका म्याग्देलीहरुलाई एकताबद्ध गर्दै भैपरि आउने समस्यामा सहजीकरण गर्ने, जिल्लाको सामाजिक क्षेत्रमा सहयोगका साथै प्रवासमा आर्जन गरिएको सीप र पुँजीलाई लगानीको रुपमा भित्र्याउन भूमिका खेल्ने उदेश्यले मोनाको गठन गरिएको थियो ।

अधिवेशनकै अवसरमा बेनीमा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता जारी रहेको छ भने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिता समेत आयोजना गरिएको छ । महाधिवेशनकै क्रममा जिल्लाको विकासका लागि मोनाले गर्न सक्ने गतिविधिहरुको बारेमा जिल्लाका सरोकारवालाहरु संग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको मोना अन्तराष्ट्रियका महासचिव हरि राम्जालीले जानकारी दिनुभयो ।