म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिताको उपाधी गोरखाका नवराज गुरूङले जितेका छन् । मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागि शुक्रबार विहान आयोजित मिनी म्याराथुन प्रतियोगितामा शत्रुभञ्जन गुल्मका गुरुङले १८ मिनेट ४६ सेकेण्डमा पार गरे ।

सदरमुकामस्थित खुल्लामञ्चबाट सुरू भएको म्याराथुन हाँडेभिरको लभ्लीहिल पदमार्ग हुदै लभ्लीहिलमा पुगेर बाङ्गेरा–लभ्लीहिल सडकखण्ड हुदै खुल्लामञ्चमा पुगेर टुंगिएको थियो ।

प्रतियोगितामा १९ मिनेट ४९ सेकेण्डमा सोही दुरी पार गरी धवलागिरी गाउँपालिका वडा नं ६ का विराज परियार दोस्रो र १९ मिनेट ८९ सेकेण्डमा दुरी पार गर्दै बागलुङका बादल कार्की तृतिय भएका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले पाँचौ महाधिवेशनको अवसरमा पदमार्गमार्फत बेनी र लभ्लीहिलको पर्यटन प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरेको अध्यक्ष अम्मर छन्त्यालले बताए । प्रतियोगितामा ४० जनाको सहभागिता रहेको थियो ।

बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिलसम्म पुर्याउन प्रतियोगिताले सघाउने अपेक्षा मोनाको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतियलाई क्रमश नगद २० हजार,१५ हजार,१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply