म्याग्दीको सदरमुकाम बेनीका १२ बर्षिय सुजल श्रेष्ठ पहिलोपटक हनुमान नाचमा सहभागी भए । नेवार समुदायले संस्कृतिको धरोहर मान्ने हनुमान नाच प्रर्दशनका लागि नियमित प्रशिक्षणमा सहभागी भएका सुजल शुक्रबारदेखि बेनीमा सुरू भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीबजारमा रित्तो खुट्टा जेष्ठ र अनुभवी कालकारहरूसँगै नाचे ।
सुजलसँगै नाचमा १२ बर्षिय आरभ गिरी सहभागी थिए । सुजर र आरभ नजन्मिदै म्याग्दीमा हनुमान नाच देखाउन बन्द भएको थियो । जनशक्ती लगायत विविध कारणले दुईदशक अगाडीदेखि देखाउन छोडिएको हनुमान नाचको संरक्षणमा नेपाल भाषा मंकाःखले हनुमान नाँच संरक्षण समिति गठन गरेपछि दुईदशक अगाडी नै बन्द भएको नाँच अहिले निरन्तरता पाउन थालेको छ ।
हनुमान नाचमा सहभागि हुने पूराना कलाकारले नयाँ पुस्तालाई तालिम तथा खर्च ब्यवस्थापनका लागि नेपाल भाषा मंकाखलका प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा संरक्षण समिति बनाइएपछि जनशक्ती ब्यवस्थापनमा सक्रियता बढेको छ ।
तत्कालिन समयमा भक्तपूरबाट भित्रिएको हनुमान नाच अहिले छिमेकी जिल्ला बागलुङमा हरेक बर्ष देखाउने गरिन्छ भने म्याग्दीमा भने बि.स २०५७ साल यता नियमित देखाउन आर्थिक र जनशक्ती बाधक बनेको थियो ।
कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको हनुमान नाच संरक्षणका लागि समिति नै बनाएपछि भने अव नियमित सञ्चालन र पुस्ता हस्तान्तरणका लागि सहज भएको संरक्षण समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए ।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ ।
बेनीमा यसअगाडी बि.स २०५७ साल यता विभिन्न सार्वजनिक कार्यक्रम र बर्खेनाचमा भाँकी मात्रै प्रर्दशन गरिएको छ । विधिपूर्वक झाँकी मात्रै देखाउने गरिएको छ । हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् ।
हनुमान नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।
नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो (डण्डी) हुन्छ ।
नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।
नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हु्न्छन्।वाद्यवादकहरुले बजाएको मृदङ्गा, झ्याली लगायतका बाजाहरुको निश्चित तालहरुमा उफ्रदै घुम्दै र हातका डण्डीहरु एक आपसमा जुधाउदै नाच्दा यस नृत्य साँच्चै आकर्षक देखिन्छ । लठ्ठीहरू ठोक्काउदा निस्कने आवाजले समेत नृत्यको वातावरण थप संगीतमय बनेको आभास मिल्छ ।
नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् ।
नृत्य तालको समाप्ति पश्चात ५ ताल तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ । हनुमान नाँच मुख्य गरी जनशक्ती र आर्थिक ब्यवस्थापनकै कारण बन्द हुने गरेकोमा बेनीका नेवार समुदायहरूले संरक्षण सहितको अभियानले नियमित हनुमान नाँच सञ्चालन हुने विश्वास जगाएको छ ।