म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगितामा ३२ जना सहभागी थिए ।बेनीस्थित खुल्लामञ्चबाट सुरू भएको म्याराथुनमा नेपाली सेना, नेपाल प्रहरी,पूर्व भारतीय सेनाका जवान समेत थिए ।

खुल्लामञ्चबाट बेनी–लभ्लीहिल पदमार्ग हुदैपुनः खुल्लामञ्चमा आएर टुंगिएको प्रतियोगितामा महिलातर्फबाट एक्ली सहभागी रिकजना माझी थिइन् । ३१ जना पुरूषको भिडमा १६ नम्बरको जर्सीमा सहभागी माझीले सहभागी मध्ये आधाभन्दा धेरै पुरूषलाई उछिन्दै खुल्लामञ्चमा पुगिन् ।

नेपाली सेना, नेपाल प्रहरीका जवान र प्रतियोगिताका लागि तोकिएको रुटमा नियमित विहानी यात्रा गर्नेहरूको भिडमा माझीले जमेर प्रतिस्पर्धा गरेकी थिईन् । पालिका, जिल्ला र प्रदेशस्तरीय एथलेटिक्समा स्वर्ण पदक जितेकी माझीले ठाडो उकालो र अपरिचित रूटमा समेत आफ्नो क्षमता देखाउ सफल भएकी छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५,अमर्नको पोक गाउँकी माझीले पाका प्रतियोगीसँग समेत प्रतिस्पर्धा गर्न सक्ने सन्देश समेत दिएकी छन् ।

दुःख, कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा एथलेटिक्स बिधामा पालिका, जिल्ला र प्रदेशबाट समेत गरी करिब दर्जनको हाराहारीमा स्वर्णपदक जितेकी माझीले पुरूषसँग समेत एथलेटिक्स प्रतियोगिताले अनुभव मिलेको बताईन् ।

‘देशको लागि पदक जित्न मैले अहिलेदेखि नै मेहनत गरेको छु, खुल्ला म्याराथुनले अनुभव जुटाउन सहज भएको छ’ रिकजनाले भनिन् । पुरुष प्रतियोगिसँग लामो दुरीको दौडमा समेत सहभागी भएकी रिकजनाले अब लामो दूरीका लागि पनि आत्मविश्वास बढेको बताइन् ।

हाल बावियाचौरस्थित मङ्गला माविको कक्षा ९ मा अध्ययनरत रिकजना भविस्यमा नेपालबाट प्रतिनिधित्व गदैं ओलम्पिक सहितका अन्तराष्ट्रियस्तरका खेलहरूमा सहभागी हुने सपना बोकेकी छन् । उनले साग र ओलम्पिकमा नेपालको महिलातर्फबाट सहभागी हुन पाएर एथलेटिक्समा सहभागी भएर उपाधी जितेपछि आफ्नो अहिलेको मेहनतले बल्ल सफलता पाउने बताइन् ।

रिकजनाले खेल र अध्ययन सँगसँगै अगाडि बढाउने लक्ष्यमा छिन् । मेधावी विद्यार्थी रिकजनाले खेलकुदमा लागेपछि पढाइ बिग्रन्छ अनि पढाइ र खेलकुद साथसाथ लैजान सकिन्छ भन्ने मान्यता चिर्ने अहिलेसम्म सफल भएकी छन् । रिकजनाले पालिकास्तरीय प्रतियोगितामा मंगला मावि र जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा जोडेको पदकले नै विद्यालयले उपाधी जित्ने गरेको थियो ।

जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै चार स्वर्ण पदक हात पारेकी रिकजनाले पालिकास्तरीय प्रतियोगितामा मंगला माविका लागि ६ स्वर्ण पदक जितेकी थिईन् । चरम अभाव र समस्यालाई जितेर उदीयमान खेलाडी बन्न सङ्घर्षशील रिकजनले खेलमा जितेको पदकले प्रतियोगिताको अंकतालिका नै फेरिन्छ ।

उनले राष्ट्रिपति कपमा विद्यालयलाई पालिका प्रथम र जिल्लास्तरीयमा तेस्रो बनाउन सफल भएपछि अहिले एथलेटिक्समा रिकजनाको नाम लिने गरिन्छ । जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपका लागि समेत छनोट भएकी थिइन् ।

शुक्रबार प्रतियोगितामा सहभागी हुन आएकी माझीलाई मोना अन्तराष्ट्रियका अध्यक्ष अम्मर छन्त्याल र महासचिव हरि राम्जालीले नगद सहित प्रोत्साहन गरेका थिए । उनको सहभागिताले आयोजक उत्साहित भएको थियो । ‘आँट गर्ने हो भने नसकिने केही पनि रहनेछ ।’ विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीले भने ।

उनले ’गाउँघरमा दौडँदा दौड्दै यो अवस्थामा आइपुगेकी रिकजनालाई उचित अवसर र प्रशिक्षणको आवश्यकता रहेको बताए । उनले सानो उमेरमै धावकजस्तै दौडिएर सबैलाई चकित बनाउने रिकजना भविष्यमा राम्रो प्रतिभाशाली खेलाडी बन्न सक्ने भएकाले सरोकारवाला निकाय र सहयोगदाताको आवश्यकता रहेको बताए ।

यता एथलेटिक्स संघ म्याग्दीका अध्यक्ष विनोद घर्ती क्षत्रीले विपन्न परिवारमा हुर्किएकी रिकजनाको प्रतिभा निखार्दै भविष्यमा नेपालबाट खेल्न अहिलेदेखि नै वातावरण बनाउनुपर्ने बताए । रिकजनालाई प्रयाप्त तालिम सहितको सुविधा जुटाउन सकेमा एथलेटिक्स विधामा टिकाउन र बिकाउन सकिने बताइन्छ ।

Leave a Reply