म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददीवल खड्का सर्वसम्मत निर्वाचित भएका छन् । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोनाको म्याग्दीको बेनीमा शनिवार सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार पुख्र्यौली घर भई तीनदशक देखि जापानमा ब्यवसाय सञ्चालन गरिरहेका अध्यक्ष खड्काको नेतृत्वमा उपाध्यक्षमा सुर्जे भट्टचन, ई.नन्द्र गर्वुजा, हरी राम्जाली, दिपक कार्की, किसान जिसी र महिला उपाध्यक्षमा विष्णु बानियाँ चयन गरिएको छ ।

त्यसैगरी महासचिबमा सुनेश केसी, सचिब हिक्मत श्रेष्ठ, निलमकुमार थापा, महिला सचिब संगिता थापा, कोषाध्यक्ष नरेन्द्र फगामी, सहकोषाध्यक्ष प्रेम छन्त्याल रहेका छन् ।

अधिवेशनले युवा संयोजक सचिन श्रेष्ठ, महिला संयोजक पूर्णिमा पाईजा, महिला उप–संयोजक नैना पुन तिलिजा र युरोप क्षेत्रीय संयोजक दिपु फगामीलाई चयन गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश पुनले बताए ।

हाल जापानमा रहनुभएका अध्यक्ष खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष थिए । मोनाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउनुभएका प्रमुख सल्लाहकार मिम पुर्जाले एकता र सहकार्यका लागि सर्मथन गरेसँगै सहमतिबाटै नेतृत्व चयन गरिएको थियो ।

अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले मोनालाई अन्य मुलुकहरुमा समेत विस्तार गर्ने र विदेशमा आर्जन गरेको सिप, पुँजी र प्रविधिलाई जिल्लाको विकास र समृद्धिमा सघाउन लगानीको रुपमा भित्राउन प्रतिबद्ध रहेको बताए।

उनले मोनामार्फत सामाजिकसँगै मानवीय सेवाका अभियानसँगै जिल्लाका स्थानीय तहसँग समेत सहकार्य गरी अगाडी बढ्ने बताए ।उनले विश्वभर मोनाको सञ्जाल विस्तार नभएको देशहरूमा मोना गठन, निस्कृय रहेकामा सक्रिय बनाउने बताए ।

अधिवेशनको समापन कार्यक्रममा मोना अन्तराष्ट्रिका पूर्व अध्यक्ष योगेन क्षत्री, संरक्षक मिम पूर्जा, संस्थापक अध्यक्ष प्रकाश पुन लगायतले मोनालाई बलियो बनाउन पाँचौ महाधिवेशनले उर्जा थपिएको बताएका थिए । अधिवेशनकै अवसरमा बेनीमा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल मिनी म्याराथुन दौड प्रतियोगिता समेत सम्पन्न भएको थियो । विश्वका २८ राष्ट्रहरुमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भई २० हजारको हाराहारीमा सदस्य रहेको बताइन्छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो ।

Leave a Reply