नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशमबहादुर जुग्जालीको संयोजकत्वमा म्याग्दीमा समाजवादी मोर्चा नेपाल गठन गरिएको छ । चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले जुग्जालीलाई संयोजक चयन गरेको हो । संयोजक जुग्जाली गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री समेत हुनुहुन्छ ।

वैठकले ८ सदस्यीय संयोजन समिति गठन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । बैठकले हरेक तीन÷तीन महिनामा चक्रिय प्रणालीमा पार्टीहरुले मोर्चाको नेतृत्व गर्ने र संयोजन समितिमा हरेक पाटीबाट दुई÷दुई जना सहभागि हुने निर्णय समेत गरेका छन् ।

मोर्चामा माओवादीबाट जिल्ला संयोजक जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजबादी)बाट बमबहादुर पाईजा र हरिकृष्ण पौडेल र जनता समाजबादी पार्टीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्याल प्रतिनिधि रहेको संयोजन समितीले जनाएको छ ।मोर्चाको आयोजनामा आगामी कात्तिक १८ गते बेनीमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने र जिल्लामा समेत समाजवादी सन्देश सभाको आयोजना गर्ने निर्णय गर्ने मोर्चाको संयोजक जुग्जालीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र जिल्ला इन्चार्ज गुप्तबहादुर हमाल, नेकपा धौलागिरी ब्यूरो प्रमुख विकिरण सि, नेकपा एस म्याग्दीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजबादीका उपाध्यक्ष जीवन खातीले संविधानको रक्षा र समाजवादको आधार तयार गर्नका लागि केन्द्रमा समाजवादी शक्ति विच सहकार्य,संघर्ष र समन्वयका लागि मोर्चा बनेको र मोर्चालाई जिल्लामा पनि प्रभावकारी बनाईने जोड दिनुभएको थियो ।

Leave a Reply