गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र र स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी भएको जानकारी दिनुभयो ।

“बेनी–भकिम्ली सडक योजनाका लागि चालु आर्थिक वर्ष रु. दुई करोड बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “रु. दश करोड बजेटको स्रोत सुनिश्चितता गरेर चालु आर्थिक वर्षदेखिनै बहुबर्षीय ठेक्का लगाउने तयारी गरिएको छ ।” बेनी–भकिम्ली लगायत म्याग्दीका ६ वटा ग्रामिण सडक स्तरोन्नति गर्न यस वर्ष बहुबर्षीय ठेक्का लाग्ने जानकारी दिदै मन्त्री जुग्जालीले शुरु भएको सडक कालोपत्र गर्ने कामलाई निरन्तरता दिने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले ग्रामिण क्षेत्रका सडक स्तरोन्नति गरेर सुरक्षित र सहज यात्रा गर्ने वातावरण बनाउन प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।समुदायको इच्छाशक्ति हुने हो भने विकासका लागि सरकारको मात्र भर पर्नु नपर्ने सन्देश भकिम्लीबासीले सडक, विद्यालय भवन निर्माणका क्रममा दिएका उहाँको भनाई थियो ।

म्याग्दीमा भित्रिएको बजेटको सफल कार्यान्वयन गर्नतर्फ सरोकारवालाहरुले साथ र सहयोग गर्नुपर्न मन्त्री जुग्जालीले बताउनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीको विकासका लागि अवसरको सदुपयोग गर्नुपर्ने र भित्रिएका बजेट तथा योजनाको कार्यान्वयन गराउनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका ग्रामिण सडक स्तरोन्नति, खानेपानी, सिचाई सुविधा विस्तार, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र विद्युत सुविधा विस्तारमा जोड दिएको बताउनुभयो । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ ।

Leave a Reply