म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन गत शुक्रबार र शनिबार गरी दुई दिनमा सम्पन्न भयो । विविध सांस्कृतिक कार्यक्रम, खेलकुदसहित सम्पन्न अधिवेशनबाट मध्यपूर्वको देश कतारमा रोजगारी गर्ने नरेन्द्र फगामी कोषाध्यक्ष पदमा विजयी भएका छन् । अध्यक्षमा सर्वसम्मतरूपमा निर्वाचित नयाँ कार्यसमितिलाई ददिवल खड्काले नेतृत्व गर्नेछन् ।

तर अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी भने नरेन्द्र फगामीले पाएका छन् l कोषाध्यक्ष पदमा फगामीको मात्र एकल उम्मेदवारी परेसँगै उनले आफ्नो सपनाको शुरुवाती बिन्दु भेटेको महसुस गरेको बताउँछन् l मोना आफैंमा सामाजिक क्षेत्रमा उर्वर संस्था हो, यसमा विश्वको नजर पर्ने गरेको हुँदा आर्थिक पाटो सफा र मजबुत हुनुपर्ने फगामीको बुझाइ छ l

महाधिवेशनको बन्द सत्रबाट आफूले जिम्मेवारी ग्रहण गरेयता जिम्मेवारी हस्तान्तरण नगर्दासम्म पशुपतिनाथलाई सम्झेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे l उनले आफू नेता नभए पनि प्रवासी म्याग्देलीहरु समक्ष कोषका बारेमा ऐना जस्तै छर्लङ्ग देखिने र बुझिने गरी अर्धवार्षिकीरूपमा आयव्यय पेस गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् l

पिता तेज बहादुर फगामी र माता नरमाया फगामीको कोखबाट २०३७ साल जेठमा हालको मालिका गाउँपालिका-५, देबिस्थान (मगरदाङ)मा परिवारको जेठो छोरोको रूपमा जन्मिएका उनका ३ भाइ र ५ बहिनी (चार जीवित) छन् l

श्री गौ बम बस्त मावि तत्कालीन गौ प्रावि, मगरदाङबाट- कक्षा ५ सम्म, श्री भीम मावि, पन्थोकबाट कक्षा ८ सम्म, श्री जन प्रिय मावि, दर्बाङ्गबाट कक्षा १० सम्म अध्ययन गरेका फगामीले उच्च शिक्षा पृथ्वी नारायण बहुमुखी क्याम्पस, पोखरा- आई. एड- गणित र खेलकुद तथा शारीरिक स्वास्थ्य शिक्षा, २०५५-२०५७ अलाम गरेका हुन् l

महेन्द्र रत्न शिक्षा क्याम्पस, ताहाचल- २०५८-२०६२, बी एड अध्ययन गरेपश्चात जागिरे जीवन शुरु गरेका हुन् l विक्रम संवत् २०५७-२०६० साल सम्म केयर टप बोर्डिङ स्कुल, लगनखेलमा सहायक लेखापाल र २०६१-२०६३ मा जोसेफ इन्टरनेसनल स्कुल-लेखापाल तथा होस्टेल वार्डेन भएर काम गरेको अनुभव नेपालमै सँगालेका थिए l

 

अकस्मात बुबाको मृत्यु भएपछि ठुलो परिवारको जेठो छोरोको हैसियतमा उनको काँधमा पुरा परिवारको जिम्मेवारीले किच्यो l चाहेर नचाहेर उनले परिवारको जिम्मा लिनै पर्ने विकल्प रहित बाध्यता आइ पर्‍यो l ठूलो परिवारलाई नेपालको जागिरले धान्न समस्या परेपछि सन २००५, सेप्टेम्बरमा उनी कतार हानिए l

कतारको फ्युल कम्पनी ओकुदमा सिनियर अफिसरका रूपमा हाल सम्म कार्यरत छन् l आफ्ना बारेमा कुरा गर्दा हँसिला मुहारका धनी फगामी एकाएक निकै भावुक बने l जीवनमा सफलताको मापन आफू सँग नभए पनि आज आफूले पाएको सफलता भगवानको काखमा रहेका स्वर्गीय पितालाई समर्पण गरे l उनले आफ्नो सफलता देखाउन नपाए पनि पिताले आफूलाई सदैव आशीर्वाद दिइरहेको र आफूले पाइरहेको महसुस हुने गरेको बताए l

No description available.

उनी कतार प्रवेश गरेपछि आफ्नो पारिवारिक जिम्मेवारी सँगसँगै गाउटोल र क्लबको विकास तथा सहयोगमा निरन्तर जुटिरहे l कतारमा रहेका प्रवासी म्याग्देलीको साझा संस्था मोना कतारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा विभिन्न सहयोग गर्दै अगाडी बढेका फगामिलाई सन २०१७/१९को कार्यकालमा मोना कतारले सल्लाहकारमा मनोनीत गर्‍यो l सलाहकारबाट मोनाको यात्रा शुरु गरेका फगामीले कतारमा २०१९/२१ कार्यकालमा उपाध्यक्ष, २०२१/२३ कार्यकालमा अध्यक्ष पदमा रही संस्थाको बागडोर सम्हालेका उनी शालीन, निडर र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् l

मोना कतारको कार्यकारी पदमा रहेकै बेला मोना अन्तर्राष्ट्रिय समितिको कार्यसमिति सदस्य तथा  विभिन्न विभागमा बसेर कार्य सम्पादन गरिसकेका छन् l एलिना र पूजन गरी दुई सन्तानका पिता फगामीले आफ्नो सामाजिक तथा व्यक्तिगत सफलताको मुख्य श्रेय  श्रीमती फुलमतिलाई दिन्छन् l आफूलाई बुझ्ने, अगाडी बढ्न हौसला दिने र सामाजिक कार्यमा लाग्न हौसला दिने आफनै फुलमती रहेको बताए  l

No description available.

बाँकी जीवन पनि समाजमा र सामाजिक रूपमा बिताउने आफ्नो चाहना रहेको फगामीको भनाइ छ l परदेशिएका नेपालीको लर्को रोक्न नसके पनि कम्तीमा प्रवासबाट म्याग्दी जिल्लामा फर्किएकालाई स्थापित गर्न सके आफ्नो सामाजिक जीवन सफल हुने उनको बुझाइ छ l

कतारबाट म्याग्दी फर्किएका म्याग्देलीलाई सीप तथा समस्यामा परेकालाई उद्धारसहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्न मोना कतारले स्थापना गरेको मोना कतार बहुउद्देश्यीय अक्षयकोषका संस्थापक सदस्य तथा कार्यसमिति सदस्य समेत हुन् l उनले कोष र मोना अन्तर्राष्ट्रिय कार्यसमिति बिच कार्यगत सहकार्य गर्दै गराउँदै सामाजिक तथा परोपकारी कार्यमा निरन्तर लागे अठोट लिएका छन् l

Leave a Reply