म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई आवश्यक तालिम सहित पूर्वाधार विस्तारमा सरोकारवालालाई दवाव दिन स्थानीय तहस्तरीय फुटबल संघ गठनको अभियानलाई तिब्रता दिइएको छ ।

फुटबल संघ म्याग्दीले जिल्लाका सबै स्थानीय तहमा सञ्जाल विस्तारको क्रममा पश्चिम म्याग्दीको मालिका गाउँपालिमा प्रविण विश्वकर्माको अध्यक्षतामा मालिका गाउँपालिका फुटबल संघ गठन गरिएको छ। संघको उपाध्यक्षमा लक्षिन पुन, सचिव म्यादिस गर्बुजा, कोषाध्यक्ष कसक पुन, सहसचिव धिरज पुन,, सह–कोषाध्यक्ष नरेश पुन रहेका छन् ।

संघको कार्यसमिति सदस्यहरू आशिका क्षत्री, विपना विश्वकर्मा, टोप पूर्जा, कविन फगामी, दिपसन जुग्जाली, त्रिलोक बुढा र नगेन्द्र क्षेत्र रहेको जिल्ला भलिबल संघको अध्यक्ष कुमार बानियाँले बताए । ‘लुकेका खेलाडीको पहिचानमा समेत जुट्छौ, अब प्रशिक्षण र प्रोत्साहन सँगसंगै जान्छ’ अध्यक्ष बानियाँले भने ।

उनका अनुसार जिल्लामा विद्यालयस्तरीय तथा विभिन्न क्लवहरूद्धारा आयोजित फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई उचित संरक्षणको अभावमा प्रतिभा लुकाउन बाध्य भएकाले पालिकास्तरमै समिति बनाएर फुटबलजन्य गतिविधिलाई तिब्रता दिने बताए ।

भेलालाई सम्बोधन गदैं गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जिल्लामै उत्कृष्ट खेलाडीहरु भएको पालिका भएकाले फुटबल खेललाई अगाडी बढाउन आवश्यक सहयोग गर्ने बताए । सोही अवसरमा वडा नं ६ का अध्यक्ष पथबहादुर रोका लगायतको उपस्थिती रहेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को मान्यता प्राप्त गर्नअ मापदण्ड अनुसारको खेलमैदान, क्लवहरुको नियमित नविकरण सहितका फुटबलजन्य गतिविधि लगायतका विभिन्न मापदण्ड नपुगेका कारण समस्या भइरहेको छ । जिल्ला फुटबल संघले खुल्लामन्चमा ११ ए साइड फुटबल मैदान तयार भएपछि प्रक्रियामा जाने गरी तयारी गरेको जनाएको छ ।

Leave a Reply