आर्थिक अभावकै कारण दशैंमा लगाउने कपडा किन्न नसक्ने गरीब, बिपन्न परिवारलाई बेनी नगरपालिका वडा नं ६ ले रोजेर लैजान गरी निःशुल्क कपडा उपलब्ध गराएको छ । जामुनाखर्कस्थित वडा कार्यालयमा रहेको कपडा बैंकमा आर्थिक अभावकै कारण नयाँ कपडा किन्न नसक्नेलाई एकपटक प्रयोग भएका सुकिला र फेन्सी पसलबाट ल्याइएको नयाँ कपडा निःशुल्क दिने वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताए ।

‘दशैंमा विपन्नलाई दिन कपडा थपेका छौ,‘पैसा नभएर नयाँ कपडा लगाउन नपाउनेहरूलाई लैजान सार्वजनिक सूचना जारी गरेको छु’ अध्यक्ष बानियाँले भने । वडाभित्रका दलित बस्तीहरूमा आर्थिक अभावकै कारण बर्षमा एकपटक मुस्किलले कपडा किन्न सक्ने धेरै भएकाले वडा अध्यक्ष बानियाँको पहलमा स्थापना भएको बैंकबाट धेरैले नयाँ कपडा लगेका छन् । ‘आयो दसैँ ढोल बनाई, गयो दसैँ ऋण बोकाइ’ भन्ने नियति बदल्न यसपटक थप नयाँ कपडा ल्याइएको अध्यक्ष बानियाँको भनाई छ ।

उनले नाम दर्ता शुल्क १० रुपैयाँ र एकपटक लगेकाहरूलाई निश्चित समयपछि मात्रै अर्को पटक दिने गरिएको बताए । दशैंमा कपडासँगै अति विपन्नलाई आवश्यकता अनुसार थप सहयोग समेत गरिने जनाइएको छ । वडाभित्रका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने गरी सहयोगदाताबाट समेत कपडा संकलन गर्ने गरिन्छ । प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिन्छ ।

Leave a Reply