म्याग्दीको बेनी अस्पतालले दैनिक १३ घण्टा ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको अस्पतालले उपलब्ध सेवालाई सेवाग्राहीमैत्री बनाउन बिहान ७ बजेदेखि राती ८ बजेसम्म ओपिडी सञ्चालनमा ल्याउने भएको हो ।

गत असोज २१ गतेदेखि सुरु गरिएको परीक्षण तथा जनशक्ती सहित अन्य ब्यवस्थापन गरेपछि नियमित सञ्चालनमा ल्याएको तयारी गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले बताए । ‘अब बिरामीले ओपिडी सेवाकै लागि लामो समय अस्पतालमा विताउनुपदैन्, थप शुल्क लाग्दैन,स्वास्थ्य विमा कार्डबाट समेत सेवा लिन सकिन्छ’ अध्यक्ष सुबेदीले भने ।

उनका अनुसार विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विशेषज्ञ सेवा समेत उपलब्ध् हुने छ । यसअघि १० बजेदेखि ४ बजेसम्म ओपिडी टिकट खुल्ने गरेको थियो । ग्रामिण क्षेत्रबाट आउने बिरामीले विहानै लाइनमा बसेर टोकन लिनुपर्ने, ओपिडी सेवा बन्द भएपछि इमरजेन्सी वा बाहिर क्लिनिकमा गएर चर्को शुल्क तिरेर शेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

शनिबार र सार्वजनिक विदानको दिनमा समेत ओपिडी सेवा सञ्चालन गरिने छ । सेवाको बिहिबार गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

विगत ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेको अस्पतालले बिहानदेखि रातीसम्म सञ्चालन गर्ने ओपिडी सेवालाई गण्डकी प्रदेशबाट थप जनशक्ती माग गरिने समेत अस्पतालले जनाएको छ ।

अस्पतालले दरबन्दी अनुसारका चिकित्सकहरूलाई बेनी अस्पतालमा पठाउन समेत मन्त्री सिम्खडामार्फत अनुरोध गरिने अस्पतालका अध्यक्ष सुबेदीले बताए । विसं २०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको अस्पतालका प्रमुख चिकित्सक डा। अञ्जु थापाले बताइन्।

अस्पतालमा हाल दैनिक दुई सयदेखि दुई सय ९० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन् । अब विहानैदेखि ओपिडी सेवा सञ्चालनले बिरामीको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply