विगतका बर्षको तुलनामा यसबर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ । दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ । नयाँ र खुद्रा नोट प्रयाप्त नपाइएको सर्वसाधारणले गुनासो गरेका छन् ।

चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणले करिव ५ करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको वित्तिय संस्थाका प्रतिनिधिको भनाई छ। नेपाल बैंक बेनी शाखाले सर्वसाधारणलाई लाइनमा राखेर नयाँ नोट वितरण गरेको छ ।
नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष समेत रहेको छ ।

नेपाल बैंकले समेत सर्वसाधारणको माग अनुसार नयाँ नोट वितरण गर्न नसकिएको जनाएको छ ।सर्वसाधारण, कर्जावाला ग्राहक, सरकारी निकायका प्रतिनिधिका साथै अन्य वित्तिय संस्थालाई नेपाल बैंकले नयाँ नोट वितरण गर्ने गरेको छ ।

विगतका बर्षको तुलनामा ६० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम आएकाले माग अनुसार वितरण गर्न नसकिएको बैंकको भनाई छ। यसबर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, १०० रुपैयाँको नयाँ नोट उपलब्ध गराएको छ ।

२० र ५० को नयाँ नोट निकै न्युन आएकाले सर्वसाधारणले सहजै प्राप्त गर्न सकेनन् । आफ्ना ग्राहकको माग अनुसार नयाँ नोट उपलब्ध गराउन नसकिएको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए ।

उनका अनुसार २०, ५० र १ सयको नयाँ नोटको माग धेरै रहेको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले बताए । नयाँ सहित एक पटक प्रयोग भइसकेका सुकिला नोट वितरण गरेमा खुद्रा पैसाको अभाव ठेग्न सकिने भएकाले जिल्ला बाहिरबाट समेत एकपटक प्रयोग भएको खुद्रा नोट ल्याइएको छ ।

म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लामा सबै स्थानीय तहमा रहेका वित्तिय संस्थामा नयाँ नोटका लागि सर्वसाधारण दिनभरी लाइनम बसेका छन् । शाखा विस्तार गरेका केही निजी बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंक पोखरा र आफ्नै केन्द्रिय कार्यालयबाट समेत नयाँ नोट ल्याउने गरेका छन ।

नयाँ नोट चाडपर्वपछि वित्तिय संस्थामा जम्मा हुदाँ रातो टिकाले रंगिएको हुन्छ । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको छ ।

नयाँ नोट वितरणको क्रममा वित्तिय संस्थाका प्रतिनिधिले नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने समेत सचेतना कार्यक्रम समेत गर्ने गरेको छ ।

Leave a Reply