---Advertisement---

बेनी अस्पताल: ‘घण्टौ लाइनमा बसेर सेवा लिने दिन गए’

On: October 20, 2023 10:51 AM
Follow Us:

१८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७,लामाखेतबाट चेली परियारले विहानको समयमै ओपिडी सेवाबाट बच्चाको उपचार पाइन् । हतार–हतारमा अस्पतालमा प्रवेश गरेकी परियारले विहानै डाक्टरले छोराको उपचार गरेपछि खुशी हुदै घर फर्किइन् ।

परियारजस्तै बेनी नगरपालिका–९ गलेश्वरबजारबाट आएकी ५५ बर्षिया लोककुमारी पूर्जा विहान ८ बजेभित्र चिकित्सकले चेकजाँच गरेपछि औषधी लिएर घर फर्किइन् ।

दिउँसो भिडभाड हुने भएकाले विहानै ओपिडीको टिकट लिन लाइनमा बस्न आएका बागलुङका टेकबहादुर खत्री, मालिका गाउँपालिका–२ रूमकी जोनिका पुन, पर्वत जलजला–३ मल्लाजकी केशवकुमारी रेग्मीले लाइनमा नबसी विहानै सेवा लिएर घर फर्किए । उपचारका लागि अस्पतालमा प्रवेश गर्दा वित्तिकै विहानै डाक्टर भेटाउँदा निकै खुसी लागेको बेनपा–५ पुलाचौरका प्रदिप पौडेलले बताए ।

‘विहानै ओपिडी सेवाको शुभारम्भ निकै राम्रो काम हो,‘बिरामी घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ’ पौडेलले भने । बेनी अस्पतालले दैनिक १३ घण्टा ओपिडी सेवा सुरू गरेपछि बिरामीलाई निकै सहज भएको छ ।
जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको अस्पतालले बिरामीलाई सहज सेवा दिने उद्देश्यलेहरेक दिन बिहान ७ बजेदेखि राती ८ बजेसम्म ओपिडी सञ्चालनमा ल्याउँदा विहानै उपचारमा जाने विरामीको संख्या समेत धेरै देखिएको छ ।

ओपिडी सेवा विस्तारको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडाले उद्घाटन गदैं अस्पतालमा जनशक्ती थप र सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाईन् ।

‘बेनी अस्पतालमा गुणस्तरीय सेवामा कुनै कमी हुनेछैन, मैले यहीबाटै जनशक्ती ब्यवस्थापनको काम सुरु गर्नेछु’ मन्त्री सिम्खडाले भनिन् । उनले ओपिडीसंगै अन्य ल्यावसेवामा जनशक्ती थप गर्ने प्रतिबद्धता जनाईन् ।

गत असोज २१ गतेदेखि सुरु गरिएको परीक्षण तथा जनशक्ती सहित अन्य ब्यवस्थापन गरेपछि नियमित सञ्चालन गरिएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

‘ओपीडि टिकट र सेवाका लागि दिनभरी विताउनुपर्ने बाध्यता हटेको छ, थप ब्यवस्थित गदैं लैजान्छौ’ अध्यक्ष सुबेदीले भने । अस्पतालले थप दुई चिकित्सक समेत थपेर सेवा विस्तार गरेको अध्यक्ष सुबेदीले बताए । बिहान,बेलुकी र रातीको समयमा सञ्चालन हुने ओपीड सेवामा थप शुल्क समेत नलाग्ने उनले बताए ।

अस्पतालले बिरामीलाई स्वास्थ्य विमा कार्डबाट दिने सेवालाई समेत थप सहज बनाउने अध्यक्ष सुबेदीको भनाई छ । अस्पतालमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विशेषज्ञ सेवा समेत उपलब्ध हुने छ ।

यसअघि १० बजेदेखि ४ बजेसम्म ओपिडी टिकट खुल्ने गरेको थियो । शनिबार र सार्वजनिक विदानको दिनमा समेत ओपिडी सेवा सञ्चालन गरिने अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताईन् ।

उनले जनशक्ती र पूर्वाधार प्रयाप्त भएमा थप सेवाहरू विस्तार गर्न सकिने बताईन् । स्वास्थ्य सेवालाई प्रभावकारी र ब्यवस्थित रुपमा अघि बढाउन जिल्ला जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, ब्यवस्थापन समिति, कार्यरत डाक्टर, नर्स र कर्मचारीको समन्वयकारी भूमिका आवश्यक रहेको डा. थापाको भनाई छ ।

कार्यक्रममा बेनी नगरपािलका नगरप्रमुख सुरत केसी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जनशक्ती र पूर्वाधारमा प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

विगत ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेको अस्पतालले बिहानदेखि रातीसम्म सञ्चालन गर्ने ओपिडी सेवालाई गण्डकी प्रदेशबाट थप जनशक्ती माग समेत गरिएको छ ।

विसं २०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शैयाकै दरबन्दीबाट ७८ शैया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । अस्पतालमा हाल दैनिक दुई सयदेखि दुई सय ९० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन् ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालमा निर्माणधिन नयाँ भवन शक्तीशाली ठेकेदारको अटेरीका कारण अलपत्र पारेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।