पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, रनबाङ र वडा नं ५ अर्मनस्थित पिपलबोट वस्ती जोड्ने म्याग्दी खोलामाथि बनाइएको ७३ मिटर लामो झोलुङ्गे पुलको बनेको छ ।

कुल एक सय ८५ घरधुरीका ८ सय ७५ जना प्रत्यक्ष लाभान्वित हुने झोलुङ्गे पुलको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका छन् । झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले नयाँ बनेको पुलले अबका दिनमा स्थानीयवासीलाई म्याग्दीखोला वारी र पारी गर्न सहज हुने बताए । उनले नयाँ पुलबाट म्याग्दी खोलाको किनारामा निर्माणाधीन फुटबल मैदानमा पुग्न समेत सहज भएको बताएका थिए ।

नवनिर्मित झोलुङ्गे पुलले स्थानीयवासीलाई वारीपारी आवतजावत गर्न सहज हुनुका साथै विगत ७ वर्षदेखि अलपत्र परेको जिल्लाकै सबैभन्दा ठूलो खेलकुद मैदानमा खेलाडी, दर्शक र खेलप्रेमीलाई पुग्न सहज हुने अध्यक्ष रोकाले बताएका छन् । उनले झोलुङ्गे पुल निर्माण गर्नका लागि आर्थिक र प्राविधिक सहयोग प्राप्त भए पनि स्थानीय जग्गादाताको सहयोग नभएको भए सम्भव नहुने बताउँदै जग्गादाताहरु धन्यवादको पात्र बनेको बताए ।

झोलुङ्गे पुल बनाउन रनबाङका तेजबहादुर, दुर्गबहादुर, पूर्णबहादुर र सीता भण्डारी तथा पिपलबोटका भोटबहादुर क्षत्री र कर्णबहादुर वुढाथोकीले आ–आफ्नो जग्गाबाट मोटरसाईकल गुडाउन मिल्ने पहुँचमार्गसहित बाटो दिएका छन् । मंगला गाउँपालिकाको साझेदारीमा गैह्रसरकारी संस्था मिलनले गतवर्ष रनबाङ र पिपलबोट जोड्ने म्याग्दी खोलामाथिको झोलुङ्गे पुलसहित जिल्लाका सबै पालिकामा गरी कुल ९ वटा पुल निर्माणमा प्राविधिक तथा सामाजिक सहजीकरणको सेवा उपलब्ध गराएको थियो ।

चालु आर्थिक वर्षमा थप ९ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिएकी छन् । स्थानीय पालिकाहरुसँगको साझेदारीमा झोलुङ्गे पुल निर्माणमा आवश्यक सहजीकरण गरिरहेको मिलन संस्थाले जनाएअनुसार चालु आवमा मालिकाको दाङ्गा, सिस्नेरी, फुलबारी र माज्मामा दुईवटा गरी ५ वटा, रघुगंगाको बेग र कुईनेमङ्गले तथा बेनी नगरपालिका–३, भकिम्लीको चिनाखेत र ठूलोखोलामा झोलुङ्गे पुल निर्माणसम्पन्न भएका छन् ।

Leave a Reply