उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । वेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि ।

केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डे,सानालेख,गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिदै लिङ्गे पिङ र चमच्चा हालेर युवाहरु दशैंको तयारी गरिसक्थे । तर, अहिले दशैंको छैठौं दिन वितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ,न चमच्चा हालिएको छ न त युवाहरु नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिकहरु आआफ्नो काममा व्यस्त छन् । दशैंको रौनकले गाउँलाई छोएको छैन ।

पाँच सात वर्ष अघिसम्म तिजसँगै दशैको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिदा वित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटाबाटो सफा गर्ने काममा युवाहरु नै कस्सिने गर्दथे ।

तर,पछिल्ला केही वर्ष यता ज्यामरुककोटमा मात्रै होइन म्याग्दी जिल्लामा नै युवाहरु वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी शहरतिर वस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका २ का ६८ वर्षिय डिलबहादुर सापकोटाले बताउनुभयो ।

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरुको संख्या वर्षेनी बढ्दै गए पछि गाउँ युवा विहीन भएको छ ।
एक वर्षमा सरदर ५० देखि ८० जनासम्म युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरुको संख्या पनि उत्तिकै छ ।

त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेसतिर जानेहरु पनि बाख्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घर परिवारले बसाइँसराइ गरेका छन् । शारदीय मौसममा निकै आकर्षक देखिएको छ प्रकृति । छ्याङ्गै खुलेको छ आकाश । पाहारिलो घाम लाग्न सुरुभए पछि खेतका फाँटमा धान थन्क्याउने काममा किसानहरु व्यस्त छन् ।

असोजको अन्तिम साता परेका पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसानहरु कार्तिक लागेपछि मौसम घमाइलो बनेपछि खेतको फाँटमा व्यस्त हुन थालेका र दशैंको रमाइलोले भन्दा पनि धान भित्राउने चटारोले किसानहरु वेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताउनुभयो ।काम काजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दशैंको रौनक नदेखिएको उहाँको भनाइ छ ।

घरमा कमेरो र रातो माटोले लिप पोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्ग्रेमा राखेर लिप पोत गर्दे गर्दा दशै आएको छुट्टै आनन्द हुन्थ्यो । दशैका लागि भनेर खेतको काँल्लामा घाँस साँच्ने गरिन्थ्यो ।गाउँ घरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको ४ ओटा लिङगा गाडी पिङ बनाउने गाउँमा हराउँदै गएको छ ।

अहिले रोजगारीको सिलसिलामा गाउँबाट बिहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो । “विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिले गाउँमा युवाहरु नै छैनन्,पाको पुस्तालाई फुर्सद पनि छैन,जाँगर पनि चल्दैन”५२ वर्षिय टेकवहादुर क्षत्रीले भन्नुभयो ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउछन । युवाहरु रोजगारीको लागि विदेश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ ।

पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लुठो बाटन र ४ वटा बास गाडन कम्तिमा ८ ÷ १० जना आवश्यक पर्दछ । तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो तर गाउँघरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा हुनुले पनि लिङगे पिङ लोप हुदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताउनुभयो ।

फेरिदै छ ग्रामीण परिवेश
युवा पलायन,प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता र परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ ।

रातो माटो र कमेरोले पोतिएर घर गाउँमा देखिन छोडेका छन् । इनामेल र आयातित रंगले घरघर रंगिन थालेपछि गाउँका मड्किना गृहिणीहरुले विर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ । सबै चिज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन अब ।

दशैं नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन् ।

बिराना बन्दैछन् नाता सम्बन्ध

दशैं धार्मिक,सांस्कृतिक र सामाजिक चाड पनि हो । दशैंले समाजलाई जोड्छ । नाता सम्वन्धलाई नविकरण गरिदिएर सदभाव र अपनत्वको भाव उत्पन्न गरिदिन्छ । तर,मोवाइल र ईन्टरनेटको प्रयोगले नाता सम्वन्धहरु औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् ।

सानासाना नानीबाबुहरू मावली जान भन्दा मोवाइलमा गेम खेल्न रुचाउँछन् । पैदल हिडेर रात साँझमा माइती,मावली र ससुराली जानेहरु गाउँगाउँ सडक सञ्जाल पुगेपछि सवारी साधनमा हुइँकिन थालेपछि गाउँमा गोरेटो बाटोहरु पनि सुनसान देखिन्छन् ।

वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि हराईसकेको छ । गाउँको मौलिकता हराएको छ । गाउँलेहरु बजारमा आश्रित बनेका छन् । अचेल बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैँ कुरी रहनु नपर्नेभएको छ ।

अहिले शहरीकरण र बसाइँसराइले गर्दा पनि पहिलाको तुलनामा दशैंको त्यो रौनक हराउँदै गएको छ । नयाँ लुगा लगाउन र मिठो खान दशैं नै कुर्नु पर्छ भन्ने कुरा हराएको छ । पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एक गाउँठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र छ । परिणाम आफ्ना र आफन्तबीचमा दुरी बढेको बेनी नगरपालिका २ बगरफाँटका ८८ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन । रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ । जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ । जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ ।”

 

Leave a Reply