---Advertisement---

म्याग्दी कारागार: ‘घरपरिवार सम्झिएर मनाए दशै’

On: October 23, 2023 9:39 PM
Follow Us:

म्याग्दी म्याग्दी कारागारमा विजयादशमी पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न मुद्दामा कैद तथा थुनामा रहेका कैदीबन्दीहरूद्वारा आयोजित सो कार्यक्रममा कारागार कार्यालय म्याग्दीका कर्मचारीहरू, कारागार सुरक्षा गार्डका सुरक्षाकर्मीहरू तथा कैदीबन्दीहरूबीच शुभकामना आदानप्रदान भएको छ ।

कार्यक्रमको अध्यक्षता कार्यबाहक चौकीदार वसन्त रोका, प्रमुख आतिथ्यता कारागार सुरक्षा गार्ड प्रमुख प्रनानि विष्णुप्रसाद लम्साल, विशेष आतिथ्यता कारागार कार्यालयका प्रशासनिक खरिदार सुमन बानियाँ, आतिथ्यता कारागार कार्यालयका स्वास्थ्यकर्मी अहेव दीपराज चौधरी तथा अन्य कर्मचारीहरू एवम् सुरक्षाकर्मीहरूले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य दिदैं रमेश कुमार पुनले बडादशैं घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दशैं मनाउने गरेको बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि कारागार सुरक्षा गार्ड प्रमुख प्र. ना. नि. विष्णुप्रसाद लम्सालले दशैं लगायतका चाडपर्वको सांस्कृतिक महत्वका सम्बन्धमा प्रकाश पार्दै दशैंका दिनको सुरक्षा व्यवस्थाका सम्बन्धमा जानकारी दिनुभएको थियो ।

कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दशैं मनाउनुपर्ने अवस्था रहेको सहभागीहरुको भनाई छ । कतिपय कैदी नयाँ भएकाले उनीहरुलाई समेत घुलमिल बनाउने प्रयास भइरहेको बताइएको थियो । त्यस्तै, कार्यक्रमका विशेष अतिथि खरिदार सुमन बानियाँले कारागार प्रशासनका तर्फबाट दशैंतिहार पर्वहरूको शुभकामना व्यक्त गर्दै यी पर्वका समयमा कारागार प्रशासन, सुरक्षाकर्मीहरू र कैदीबन्दीहरूको बीचमा हुने समन्वयको सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका सभापति चौकीदार वसन्त रोकाले दशैंको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल गराउन सहयोग गर्ने सहयोगदाताहरूलाई धन्यवाद दिनुभएको थियो ।उक्त कार्यक्रममा कर्मचारीहरू, सुरक्षाकर्मीहरू तथा कैदीबन्दीहरूको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । सो कार्यक्रम याम फगामी र जनक पुनको सञ्चालनमा सम्पन्न भएको थियो । हाल म्याग्दी कारागारमा ६४ जना कैदी र २० जना थनुवा गरी ८४ जना कैदीबन्दीहरू रहेका छन् ।